काठमाडौं, ८ जेठ। वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज विशेष धार्मिक विधिअनुसार देखाइँदैछ।
ललितपुरको जावलाखेलमा हुने यो जात्रालाई ‘भोटो जात्रा’ भनिए पनि पुराना किम्बदन्ती अनुसार यसलाई ‘जावलाखेल जात्रा’ पनि भनिन्थ्यो। ‘जा’ अर्थात् भात र ‘वला’ अर्थात् छर्ने भन्ने अर्थ राख्ने यस जात्राको नामाकरण यही परिप्रेक्ष्यमा भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य कीर्तिमदन जोशीले बताए।
उनका अनुसार, भूतप्रेतलाई खाना अर्पण गर्नकै लागि यो जात्राको सुरुआत गरिएको विश्वास गरिन्छ। भोटो जात्रा कहिलेदेखि सुरु भयो भन्ने यकिन तिथि नभेटिए पनि रातो मच्छेन्द्रनाथको यात्रा करिब १३०० वर्ष पुरानो मानिन्छ।
किंवदन्तीको कथा यस्तो छ
किंवदन्तीअनुसार नागराज कर्कोटककी रानीको आँखा दुखेपछि उपचारका लागि वैद्यको खोजीमा खेतमा काम गरिरहेका एक किसानलाई वैद्य ठानी नागलोक (हालको टौदह) लगिएको थियो। डराएका किसानले मच्छेन्द्रनाथको प्रार्थना गरी माडको मयल बनाएर औषधिका रूपमा दिएपछि रानीको आँखा दुख्ने निको भयो।
यसप्रति सन्तुष्ट भएर कर्कोटकले किसानलाई मणिमाणिक्य जडित भोटो पुरस्कारस्वरूप दिए। किसानले सो भोटो खेतको डिलमा राखेर काम गर्न थालेका थिए। तर, एकदिन भूतले भोटो लगेर हिँडेपछि किसानले मच्छेन्द्रनाथको जात्रामा गएका बेला त्यो भोटो देखे र आफ्नो दाबी गरे।
विवाद बढेपछि कर्कोटक नागलाई समेत साक्षी राखेर सोधपुछ भयो तर कसैको पक्षमा प्रमाण नपरेपछि भोटो मच्छेन्द्रनाथकै जिम्मा लगाउने निर्णय भयो।
त्यहीबेलादेखि भोटो जात्राको परम्परा बस्यो। जात्रा सम्पन्न भएपछि प्रमाणसहित आउने व्यक्तिलाई भोटो दिन सकिने परम्परा बनाइयो। तर अहिलेसम्म कोही पनि प्रमाणसहित आउन नसकेको जनविश्वास छ।
राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाइने
हाल गुठी संस्थान ललितपुरका प्रतिनिधिको संयोजनमा राष्टपतिको उपस्थितिमा भोटो देखाउने परम्परा बसिसकेको छ।
यस विशेष अवसरमा सरकारले आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ।


