पूर्वका विभिन्न स्थानमा अति भारी वर्षा : मेची क्षेत्रका खोलामा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं, १७ जेठ  । पछिल्लो २४ घन्टामा पूर्वी नेपालका इलाम, झापा, मोरङ, सुनसरी र धनकुटाका धेरै स्थानमा अति भारी वर्षा मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार इलाम र झापा जिल्लामा अति भारी वर्षा भएको छ। इलामको सोक्टिम चिया स्टेसनमा २१६ मिलिमिटर, बारपाङ स्टेसनमा २०८.२ मिलिमिटर तथा झापाको शनिश्चरेमा २०८.६ मिलिमिटर वर्षा मापन गरिएको छ।

यसैगरी, सप्तकोशी चतरामा १२८.४ मिलिमिटर, धरानबजारमा १३४.४ मिलिमिटर, तथा कन्काईमा १२३.६ मिलिमिटर वर्षा मापन गरिएको हो।

महाशाखाका अनुसार,

  • १० मिलिमिटरसम्मको वर्षा हल्का,

  • १०–५० मिलिमिटरसम्म मध्यम,

  • ५०–१०० मिलिमिटरसम्म भारी,

  • १००–२०० मिलिमिटरसम्म धेरै भारी,

  • र २०० मिलिमिटरभन्दा बढीलाई अति भारी वर्षा मानिन्छ।

विभागले ती क्षेत्रहरूमा अझै केही समय वर्षा जारी रहने संभावना रहेको जनाएको छ। भारी वर्षाका कारण मेची, विरिङ, निन्दा, कन्काई, चिसाङखोला, मावा–रतुवा, लोहन्द्रा, बक्राहा, नुनखोला लगायतका साना खोलाहरूमा बाढी सतर्कता तह आसपास पुग्न सक्ने अवस्था देखिएकाले उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।

वर्षा र बाढीका कारण दैनिक जनजीवन, कृषि, यातायात तथा स्वास्थ्यमा असर पर्न सक्ने भएकाले बिहानदेखि दिउँसोसम्म विशेष सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।

यस वर्ष १५ दिन अगावै मनसुन पूर्वी नेपालबाट भित्रिएको छ। बिहीबार रातिदेखि कोशी प्रदेश हुँदै मनसुन प्रवेश गरेको हो।

Share:

सम्बन्धित समाचारहरु