चितवन, १६ जेठ । चितवन जिल्लाको भरतपुर महानगरपालिका–२९ अन्तर्गत सिमलताल नजिक मुग्लिङ–नारायणगढ सडकखण्डमा काठमाण्डौबाट अर्घाखाँची जाँदै गरेको यात्रुवाहक बसमा सडक माथिबाट अचानक ढुङ्गा खस्दा बसमा सामान्य क्षति पुगेको छ।
प्रहरी चौकी जुगेडीका अनुसार गएराति अन्दाजी २:१० बजे लु २ ख २१४२ नम्बरको उक्त बसमा सडक माथिबाट खसेको ढुङ्गाले बसको ढोका र ढोकाको छेउतिर क्षति पुर्याएको हो। घटनामा कुनै पनि मानवीय क्षति नभएको र सडक पनि अबरुद्ध नभएको बसका चालक पाल्पाको तानसेन नगरपालिका–१४ निवासी ४० वर्षीय रेमबहादुर थापाले जानकारी दिएका छन्।
बस केही समय रोकिएपछि पुनः आफ्नो गन्तव्यतर्फ अघि बढेको प्रहरीले जनाएको छ। घटनास्थल प्रहरी चौकी जुगेडीबाट अन्दाजी १२ किलोमिटर पूर्व पर्छ। सडकखण्ड पहिरो जोखिमयुक्त क्षेत्र भएकाले सावधानीपूर्वक यात्रा गर्न सुरक्षाकर्मीले सवारी चालक र यात्रुहरूलाई अनुरोध गरेका छन्।


