दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–९ स्थित यलुङ रि (डोल्मा खाङ) हिमाल क्षेत्रमा परेको हिमपहिरोमा परेर मृत्यु हुनेको संख्या सात पुगेको छ। जिल्ला प्रहरी कार्यालय दोलखाका डिएसपी ज्ञानकुमार महतोका अनुसार मृतकमध्ये पाँच जना विदेशी र दुई जना नेपाली नागरिक छन्।
उद्धारमा खटिएका टोलीका अनुसार आठ जना घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको छ। डिएसपी महतोले भने, “उद्धारमा संलग्न टोलीबाट प्राप्त जानकारी अनुसार सात जनाको मृत्यु भएको पुष्टि भएको छ, तर घटनास्थलमा रहेका शव अझै निकाल्न बाँकी छन्।”
विदेशी नागरिक कुन देशका हुन् भन्ने विवरण भने अहिलेसम्म प्राप्त भएको छैन।
हिमपहिरोमा परेकाहरू यलुङ रि गो हिमाल (५,६३० मिटर) आरोहणका लागि गएको टोलीका सदस्य थिए। उनीहरू कात्तिक ११ गते आरोहणका लागि प्रस्थान गरेका थिए।
घटनापछि सोमबार साँझ सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरी गरी ५० जना सुरक्षाकर्मीको संयुक्त टोली उद्धारका लागि घटनास्थलतर्फ पठाइएको छ।–00–

