कालिका, १२ जेठ । कालिका नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरूमा सोमबार स्मार्ट टिभी वितरण गरिएको छ। बहुअपाङ्गता भएका बालबालिकाको शिक्षाका लागि काम गरिरहेको अटिजम केयर चितवन सोसाइटीद्वारा सञ्चालित समावेशी शिक्षा परियोजनाले नगरका १६ वटा सामुदायिक विद्यालयहरूलाई स्मार्ट टिभी प्रदान गरेको हो।
परियोजनाका संयोजक शुशील मगरका अनुसार, शिक्षालाई प्रविधिसँग जोडेर शिक्षण–सिकाइलाई प्रभावकारी बनाउन यो पहल गरिएको हो। उक्त कार्यक्रममा हेण्डिक्याप इन्टरनेशनलले प्राविधिक सहयोग प्रदान गरेको थियो।
माध्यमिक विद्यालय रेडक्रसग्राममा आयोजित औपचारिक कार्यक्रममार्फत नगर प्रमुख विनोद रेग्मी, उप-प्रमुख विमला तामाङ, अटिजम केयर सोसाइटीका अध्यक्ष शनिलचन्द्र शर्मा, नगर शिक्षा अधिकृत चन्द्रा शर्मा र हेण्डिक्याप इन्टरनेशनलका टेक्निकल अफिसर वीरेन्द्रबहादुर थापाले विद्यालयका प्रधानाध्यापकहरूलाई स्मार्ट टिभी हस्तान्तरण गरेका थिए।
कार्यक्रममा बोल्दै मेयर रेग्मीले कालिका नगरपालिका समावेशी शिक्षा सुरु गर्ने देशकै पहिलो स्थानीय तह भएको दाबी गरे। उनले भने, “स्रोत कक्षाको कारण ओच्छ्यानमै रहेका बालबालिका हिँड्न थालेका छन्, अलिअलि हिँड्नेहरू दौडिन सक्ने भएका छन्।” पालिकाले आगामी वर्षदेखि स्थानीय स्रोतबाटै स्रोत कक्षा निरन्तरता दिने र अपाङ्गता भएका बालबालिकाको शिक्षाका लागि थप योजना ल्याउने तयारीमा रहेको जानकारी दिए।
कालिका नगरपालिकामा हाल ३६ जना बहुअपाङ्गता भएका बालबालिका छन्। तीमध्ये १५ जनालाई स्रोत कक्षामार्फत शिक्षा दिइएको छ भने विद्यालय जान नसक्ने २१ जना बालबालिकालाई घरमै आधारित शिक्षा प्रदान गरिएको छ। अटिजम केयर सोसाइटी चितवनद्वारा सञ्चालित यो शिक्षामा हाल ४ जना शिक्षक परिचालित छन्।
स्मार्ट टिभी वितरण गरिएका विद्यालयहरू:
-
भिमोदय नमुना मावि
-
पृथ्वी मावि
-
चर्तुमुखी मावि
-
मावि मजवाङ
-
मावि समीपुर
-
जनहित मावि
-
चित्राम आधारभूत विद्यालय
-
आधारभूत विद्यालय दौतेस
-
दक्षिणकाली आधारभूत विद्यालय बाङथला
-
आधारभूत विद्यालय रन्तेश
-
आधारभूत विद्यालय लोतन्ती
-
आधारभूत विद्यालय देउजर
-
आधारभूत विद्यालय सुपार
-
सिद्ध मावि भ्यूरान
-
आधारभूत विद्यालय लटौली

