चितवन, ३१ वैशाख । जिल्ला समन्वय समिति चितवनको आयोजनामा कालिका नगरपालिकामा लेखा समितिसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कालिका नगरपालिकामा सम्पन्न उक्त कार्यक्रममा जिल्लाका बेरूजु संमपरिक्षण तथा फर्छौट समितिका संयोजक तथा जिल्ला समन्वय अधिकारी हरि प्रसाद शर्माको अध्यक्षता रहेको थियो।
जिल्ला समन्वय समिति चितवनका शाखा अधिकृत नवेशराज हमालले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै प्रारम्भ गरेका थिए। कार्यक्रममा कालिका नगरपालिकाको लेखा समिति, बेरूजु फर्छौटको प्रगति र वित्तीय अनुशासनका असल अभ्यासहरूबारे वरिष्ठ लेखा अधिकृत ऋषि प्रसाद कडुवालले विस्तृत जानकारी दिएका थिए।
त्यसैगरी, लेखा समिति संयोजक टीकाराम रेग्मीले लेखा समितिका गतिविधिहरू प्रस्तुत गरे भने उपप्रमुख विमला तामाङ र प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईले नगरपालिकाको लेखा पारदर्शिता, समन्वय र सुधारका विषयमा धारणा राखेका थिए।
कालिका नगरपालिकाले विगतमा रहेको २० करोड रुपैयाँ बराबरको कुल बेरूजुमध्ये १५ करोड ६६ लाख ५६ हजार रुपैयाँ फर्छौट गरी हाल जम्मा ४ करोड ३३ लाख ४४ हजार रुपैयाँ मात्र बेरूजु कायम राख्न सफल भएको जानकारी कार्यक्रममा दिइएको थियो। यो उपलब्धिमा लेखा समिति र नगरपालिकाको सकृयतालाई प्रमुख अतिथि तथा अध्यक्ष हरि प्रसाद शर्माले धन्यवाद ज्ञापन गर्दै समापन गरेका थिए।
चितवन जिल्लामै सबैभन्दा कम अध्यावधिक बेरूजु कायम गर्न सफल कालिका नगरपालिका हाल देशभरका ७५३ पालिकामध्ये कम बेरूजु भएको शीर्ष १० पालिकामा पर्न सफल भएको जनाइएको छ।
कार्यक्रममा कालिका नगरपालिकाका उपप्रमुख विमला तामाङ, प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाई, वडा नं २ का वडाध्यक्ष लक्ष्मण पौडेल, लेखा समिति संयोजक टिकाराम रेग्मी, सदस्यहरू विरेन्द्र तामाङ र शान्ति महतोको सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन रेशम रेग्मीले गरेका थिए।


–000–


