भरतपुर, ३ जेठ । पुरूषमा हुने प्रोस्टेट क्यान्सर र मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले चितवनमा शनिबार सचेतनामूलक मोटरसाइकल र्याली सम्पन्न भएको छ।
‘डिस्टिङ्गुइस्ड जेन्टलमेन्स राइड २०२५’ नाम दिइएको सो कार्यक्रम रोयल राइनो राइडर्स मोटरसाइकल क्लब चितवन को आयोजनामा गरिएको हो। यो र्याली विश्वका प्रमुख सहरहरूमा एकैदिन आयोजना गरिने अन्तर्राष्ट्रिय अभियान हो, जुन यसपालि नेपालका काठमाडौँ, धरान, हेटौँडा र चितवनमा भव्य रूपमा सम्पन्न भयो।
कार्यक्रममा १३२ वटा क्लासिक भिन्टेज मोटरसाइकल र औपचारिक ड्यापर ड्रेसमा सजिएका १६० जना भन्दा बढी राइडर्सले सहभागिता जनाएका थिए। सहभागीमध्ये अधिकांश पुरुष भए पनि केही महिला र बालबालिकाको समेत उपस्थिति रहेको क्लबका अध्यक्ष प्रितम श्रेष्ठले जानकारी दिए। उनका अनुसार क्लबले यस्ता कार्यक्रम विगत ७ वर्षदेखि गर्दै आएको छ।
सहजकर्ता डा. शशांक कुमार सिंह (समिट हेल्थकेयर अस्पताल, भरतपुर) ले मानसिक स्वास्थ्य र प्रोस्टेट क्यान्सरप्रति जनचेतना फैलाउन सामूहिक प्रयास आवश्यक रहेको बताए। उनका अनुसार, ५० वर्ष नाघेका पुरुषहरूमा प्रोस्टेट क्यान्सरको जोखिम उच्च हुने भएकाले नियमित PSA टेस्ट, प्रोस्टेटको अल्ट्रासाउन्ड तथा DRE परीक्षण गर्न आवश्यक हुन्छ।
डा. सिंहले मानसिक स्वास्थ्यका लागि पनि खुला संवाद, सकारात्मक सोच, व्यायाम, सन्तुलित खाना र समयमै चिकित्सकीय सल्लाह लिनुपर्नेमा जोड दिए।
र्याली ग्रीन लीफ क्याफे बाट सुरु भई, बिरेन्द्र क्याम्पस, चौबिसकोठी, हाकिम चोक, बसपार्क, गोन्द्र्याङ, नारायणघाट शहीद चोक, पुल चोक, पोखरा बसपार्क हुँदै अताली रेस्टुरेन्टसम्म पुगेको थियो। अन्तिम स्थलमा जनचेतनामूलक कार्यक्रम र सांगीतिक प्रस्तुति गरिएको थियो।
विशेष पुरस्कारहरू पनि प्रदान गरिएको थियो । –:
-
एल्डर व्हीलम्यान: गोविन्द श्रेष्ठ (५० वर्ष)
-
ओल्ड-स्कुल ग्लोरी: रुक्शन गुरुङ
-
टप डेपर फिट: शिव शाही
-
जुनियर जेन्टलम्यान लुक: कियाँश कर्ण थापा (१५ महिनाका)
कार्यक्रमको आकर्षणमा ५१ वर्ष पुरानो १९७३ मोडेलको बुलेट, यामाहा RX100, होण्डा लगायतका क्लासिक बाइकहरू थिए। अत्यधिक ध्वनी वा प्रदूषण गर्ने बाइकलाई भने अनुमति दिइएको थिएन।
मनोरञ्जनात्मक कार्यक्रममा गायक प्रकाश बिक, सुरेश लामा लगायतको प्रस्तुति रहेको थियो।
कार्यक्रम अन्त्यमा डा. सिंहले चितवन जिल्ला प्रशासन, भरतपुर महानगर, ट्राफिक प्रहरी, जिल्ला प्रहरी कार्यालय र मिडियाकर्मीहरूलाई धन्यवाद ज्ञापन गर्दै क्लबको आगामी योजना अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर संचालन गरिने जानकारी दिए।



–00–


