चितवन, ३ साउन। चितवनको कालिका नगरपालिका–९ शक्तिखोरस्थित लटौली सेन्चुरी रिसोर्टमा आन्तरिक विवादका कारण चार जना कर्मचारीले सेवा छाडेका छन्।
रिसोर्ट स्रोतका अनुसार सञ्चालक ज्ञानेन्द्र खड्काले रिसोर्टमा आएका पाहुनासम्बन्धी सूचना तथा आन्तरिक जानकारी बाहिरिएको आरोप लगाएपछि व्यवस्थापन र उच्च तहका कर्मचारीबीच विवाद उत्पन्न भएको थियो। सोही विवादपछि जनरल म्यानेजर रोशन पुरीसहित चार जना कर्मचारी रिसोर्टबाट बाहिरिएका हुन्।
रिसोर्टबाट बाहिरिएका एक उच्च तहका कर्मचारीका अनुसार व्यवस्थापनले तल्लो तहका कर्मचारीलाई आन्तरिक गतिविधि निगरानी गर्न लगाउने, सञ्चालकसँगको व्यक्तिगत चिनजानको प्रभाव देखाएर काम गराउने वातावरण बनेको दाबी गरेका छन्। यी दाबीहरूबारे रिसोर्ट व्यवस्थापनको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन।
यसैबीच, सञ्चालक खड्कासँग सम्बन्धित विभिन्न विषयमा पछिल्लो समय सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि उनी थप असन्तुष्ट बनेको स्रोतको भनाइ छ। यद्यपि, ती विषयहरूबारे आधिकारिक पुष्टि भएको छैन।
गत असार ७ गतेदेखि चितवनमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका क्रममा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह परिवारसहित तीन दिन सोही रिसोर्टमा बसेका थिए। त्यस अवसरमा रिसोर्टका १६ वटा कोठा बुक गरिएको बताइएको छ।
स्रोतका अनुसार मेयर शाह रिसोर्टमा बसेका बेला केही कर्मचारीलाई बिदा दिइएको तथा सीसीटीभी क्यामेरा बन्द गरिएको भन्ने विषय सञ्चारमाध्यममा सार्वजनिक भएपछि त्यसबारे पनि सञ्चालकले चासो व्यक्त गर्दै आएका थिए। यद्यपि, यस विषयमा रिसोर्ट व्यवस्थापनले औपचारिक धारणा सार्वजनिक गरेको छैन।
ज्ञानेन्द्र खड्काले लटौली सेन्चुरी रिसोर्ट २०८३ वैशाखदेखि सञ्चालनमा ल्याएका हुन्।
स्रोतः अनलाईन खबर ।


