दासढुङ्गा दुर्घटना स्थलमा अध्ययन केन्द्र निर्माण थालनी, संरचनात्मक विकास तीव्र

चितवन, ३ जेठ । तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको दासढुङ्गा दुर्घटना स्थललाई अध्ययन केन्द्रको रूपमा विकास गर्ने कामको थालनी गरिएको छ।

२०५० सालको जेठ ३ गते, पोखराबाट चितवन आउँदै गर्दा मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत दासढुङ्गामा जिप दुर्घटनामा परी दुबै नेताको निधन भएको थियो। सो ऐतिहासिक स्थानलाई राजनीतिक र ऐतिहासिक चेतनास्थल बनाउने उद्देश्यले निर्माणकार्य अगाडि बढाइएको हो।

एमाले नेता डा. तिलचन्द्र भट्टराईका अनुसार, प्रदेश सरकारको लगानीमा अहिले पूर्वाधार निर्माण तीव्र गतिमा भइरहेको छ। दुर्घटना भएको स्थानमा त्रिशूली नदीले कटान गर्न थालेपछि तारजाली लगाइ संरक्षण गरिएको छ। साथै पार्क, शौचालय, खानेपानी, विश्रामस्थल र आकर्षक बगैँचा निर्माण भइरहेको छ।

भट्टराईका अनुसार, दुर्घटनास्थलमाथिको खाली जग्गामा निर्माण भइरहेको तीनतले अध्ययन केन्द्र भवन अन्तिम चरणमा पुगेको छ। सो भवनमा मदन भण्डारी र जीवराज आश्रितका तस्बिर, जीवनी, श्रव्य सामग्री, राजनीतिक पुस्तकालय र अनुसन्धानका सामग्रीहरू राखिने छन्। यहाँ आउनेले शान्त वातावरणमा बसेर अवलोकन गर्ने सुविधा पनि रहनेछ।

एमाले चितवनका सचिव प्रकाश ढुङ्गानाका अनुसार, यो स्थल सिङ्गो कम्युनिस्ट आन्दोलनको आस्थाको केन्द्र हो। भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद आज पनि एमालेको मुख्य राजनीतिक मार्गदर्शन बनेको उल्लेख गर्दै उनले स्मृतिस्थलको महत्व अझ बढेको बताए।

यसै अवसरमा आज ३२औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा दासढुङ्गा र भरतपुरको गाजीपुरमा विविध कार्यक्रमहरू आयोजना गरिएका छन्। गाजीपुरलाई पनि पर्यटकीय स्थलको रूपमा विकास गरिएको छ, जहाँ अहिले दैनिक सयौँ पर्यटकको आगमन भइरहेको छ। त्यहाँ सभा हल, भ्युटावर र मदन भण्डारीको सालिकसमेत निर्माण गरिएको छ।–00–

Share:

सम्बन्धित समाचारहरु