चितवन,२६ बैशाख । नेकपा (एमाले) चितवनले स्थानीय, प्रदेश र संघमा निर्वाचित आफ्ना जनप्रतिनिधिहरूलाई शुक्रबार भरतपुरमा एक विशेष प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ।
प्रशिक्षण कार्यक्रमको मुख्य प्रशिक्षक एमाले उपमहासचिव प्रदीप ज्ञवाली रहेका थिए। उनले जनप्रतिनिधिहरूलाई पार्टी र जनप्रतिनिधिबीचको अन्तरसम्बन्ध, जनउत्तरदायित्व, र राजनीतिक व्यवहार जस्ता विषयमा प्रशिक्षण दिएका थिए।
ज्ञवालीले जनप्रतिनिधिलाई पार्टीको अग्रपंक्तिका सिपाहीको रूपमा सम्बोधन गर्दै भने,
“पार्टीले के गर्यो भनेर जनताले मूल्यांकन गर्ने आधार जनप्रतिनिधिको काम नै हो। तपाईंहरूको कार्यशैलीले पार्टीको छवि निर्माण गर्छ।”
उनले थपे,
“‘यत्ति कामका लागि त एमाले नै जित्नुपर्थ्यो र?’ भन्ने बुझाइ जनतामा नहोस्। उदाहरणीय काम गरेर जनताको मन जित्नुस्।”
कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य तथा चितवन इन्चार्ज देवी ज्ञवाली, संविधानसभा सदस्य कृष्णभक्त पोखरेल, केन्द्रीय सदस्य प्रभा बराल, जिल्ला अध्यक्ष कमलराज पाठक लगायत नेताहरूले आ–आफ्नो धारणा राखेका थिए।
कार्यक्रममा जनगायक तथा एमाले प्रदेश कमिटी सदस्य अस्मिन घिमिरेले पार्टी गीत गाएर सहभागीहरूलाई मनोरञ्जन गराएका थिए।
कार्यक्रम सञ्चालन सचिव प्रकाश ढुंगानाले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष श्यामकुमार विष्टले र समापन मन्तव्य कालिका नगर प्रमुख तथा स्थानीय निकाय विभाग प्रमुख विनोद रेग्मीले दिएका थिए।





—-00–


