डेंगुको जोखिम बढ्दो, सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं ,२६ बैशाख ।  देशभर वर्षा सुरु भएसँगै डेंगु संक्रमणको जोखिम बढेको भन्दै स्वास्थ्य मन्त्रालयले सबैलाई सतर्क रहन आग्रह गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार पानी जम्न थालेपछि डेंगु सार्ने लामखुट्टे ‘एडिज एजिप्टी’ र ‘एडिज एल्बोपिक्टस’ प्रजातिको वृद्धि हुन थालेको छ।

“पानी जम्दा त्यसमा डेंगु सार्ने लामखुट्टेले फुल पार्छ, लार्भा विकास भएर मानिसलाई टोकेपछि संक्रमण फैलिन्छ,”
— डा. दाहाल

उहाँका अनुसार पानी जमेको १५ देखि २० दिनपछि संक्रमण फैलिने सम्भावना उच्च हुन्छ। त्यसैले अबको दुई साता डेंगु संक्रमणका लागि उच्च जोखिमको समय भएकाले जनस्तरमै पूर्व–तयारी आवश्यक भएको मन्त्रालयको भनाइ छ।

३५ स्थानीय तहमा जोखिम उच्च-

गत वर्ष डेंगुका धेरै केस देखिएका ३५ वटा स्थानीय तहहरूलाई संक्रमण नियन्त्रणका लागि पत्राचार भइसकेको डा. दाहालले जानकारी दिनुभयो।

स्वास्थ्य मन्त्रालयका अनुसार पुस १७ यता मात्रै ९६८ जना डेंगु संक्रमित भेटिएका छन्।
सन् २०२4 भरि ७६ जिल्लामा डेंगु फैलिँदा ४१ हजार ८६५ जना संक्रमित भएका थिए भने १५ जनाको मृत्यु भएको थियो।

के गर्नुपर्छ सतर्कता अपनाउन?

  • घर वरिपरि पानी जम्न नदिनुहोस्

  • फूलदानी, टायर, खुला भाँडो जस्ता ठाउँमा सफा राख्नुहोस्

  • लामखुट्टे टोक्न नदिन झुल वा मच्छरदानी प्रयोग गर्नुहोस्

  • ज्वरो आएको खण्डमा तुरुन्त स्वास्थ्य केन्द्रमा सम्पर्क गर्नुहोस्

Share:

सम्बन्धित समाचारहरु