काठमाण्डौं,२६ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भारत–पाकिस्तान तनावबारे छलफल भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान भएको भेटमा भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतंकवादी हमलापछि उत्पन्न परिस्थितिका बारेमा राजदूत श्रीवास्तवले जानकारी गराएका हुन्।
👉 “जेट हमला भएको भन्ने प्रचार असत्य हो” – राजदूत श्रीवास्तव
राजदूत श्रीवास्तवले भारतले आक्रमणको जवाफस्वरूप कारबाही गरे पनि जेट हमला भएको भन्ने प्रचार सत्य नभएको स्पष्ट पारेका छन्। साथै, सो घटनाप्रति नेपाल सरकारले दिएको आधिकारिक वक्तव्यप्रति धन्यवाद पनि व्यक्त गरेका छन्।
भेटमा प्रधानमन्त्री ओलीले नेपालको तटस्थ र शान्तिपूर्ण नीति दोहोर्याउँदै, विश्व शान्तिको पक्षमा नेपाल सधैँ उभिइरहेको बताए। उनले पहलगाममा भएको आतंकवादी हमलाको कडा शब्दमा भर्त्सना गरे।
👉 “नेपालले आफ्नो भूमि कुनै पनि छिमेकी राष्ट्रविरुद्ध प्रयोग हुन दिन्न” – प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओलीले नेपालले कुनै पनि द्वन्द्वरत शक्तिलाई छिमेकी राष्ट्रविरुद्ध आफ्ना भू–भाग प्रयोग गर्न नदिने नीति स्पष्ट पार्दै, आतंकवादविरुद्ध नेपालको अडान दृढ रहेको पुनः पुष्टि गरे।–00–


