काठमाडौं, ११ साउन । – देशभर मनसुनी वायुको प्रभाव जारी रहेको अवस्थामा आइतबार देशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा दिउँसो भारी वर्षा हुन सक्नेछ। त्यस्तै, देशभर सामान्यतया बदली रहने र पहाडी भू–भागका केही स्थान तथा तराईका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।
मधेस र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।
रातिको समयमा पनि देशभर सामान्य बदली रहने पूर्वानुमान गरिएको छ। कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा राति पनि भारी वर्षाको सम्भावना रहेको जनाइएको छ।
मौसमविद्हरूले सम्भावित वर्षालाई ध्यानमा राख्दै पहाडी क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन्। नदी नाला आसपास र पहिरोको जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन सुझाव दिइएको छ।


