राजसंस्था पुनःस्थापनाका लागि राजावादी शक्तिद्वारा अनिश्चितकालीन जनआन्दोलनको घोषणा

काठमाण्डौं, २५ बैशाख ।  राजसंस्था पुनःस्थापनाको माग गर्दै राजावादी शक्तिहरूले अनिश्चितकालीन संयुक्त जनआन्दोलनको घोषणा गरेका छन्। नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले एक कार्यक्रममार्फत आउँदो जेठ १५ गतेदेखि सुरु हुने जनआन्दोलनको औपचारिक घोषणा गरेको हो।

आन्दोलन तबसम्म नरोकिने उनीहरूको भनाइ छ, जबसम्म संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र, सनातन हिन्दू राष्ट्रको पुनःस्थापना, र संघीयता खारेज जस्ता तीन प्रमुख माग पुरा हुँदैनन्।

समितिका संयोजक नवराज सुवेदीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यो आन्दोलन नेपाली जनताका लागि, नेपाली जनताद्वारा गरिने राष्ट्रवादी आन्दोलन हुनेछ।” विज्ञप्तिमा बाह्य शक्तिको संलग्नता नहुने स्पष्ट गरिएको छ।

सुवेदीले जेठ १५ गतेदेखि देशका विभिन्न भागमा स्वतःस्फूर्त जुलुस, धर्ना र जनप्रदर्शनहरू गर्ने अपिल गरेका छन्। साथै, आन्दोलनलाई संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले प्रत्येक जिल्ला, पालिका र वडास्तरमा संयुक्त जनआन्दोलन समिति गठन गर्न प्रस्ताव गरिएको छ।

यो संयुक्त आन्दोलनमा राप्रपा, राप्रपा नेपाललगायत विभिन्न राजावादी संगठनहरू पनि सहभागी हुने जनाइएको छ।–00–

Share:

सम्बन्धित समाचारहरु