काठमाण्डौ उपत्यकासहित वाग्मती प्रदेशमा आजदेखि सार्वजनिक गाडीको भाडा बढ्यो

बैशाख १ काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित बागमती प्रदेश सरकारले बढाएको सार्वजनिक सवारीसाधनको भाडा आज बाट लागू भएको छ।

बागमती प्रदेश सरकार श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले आगामी वैशाख १ देखि लागू हुनेगरी प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक सवारीसाधन प्रयोग गर्दा लाग्ने भाडा बढाइएको जानकारी यसअघि नै दिएको थियो।अब काठमाण्डौ उपत्यकाभित्र सार्वजनिक गाडीमा पाँच किलोमिटरसम्म न्यूनतम २० रुपैयाँ पुगेको छ । यसअघि न्यूनतम १८ रुपैयाँ थियो । न्यूनतम भाडा १८ रुपैयाँ भए पनि यात्रु २० रुपैयाँ तिर्न बाध्य थिए । त्यस्तै १० किलोमिटरसम्म २५ रुपैयाँ, १५ किलोमिटरसम्म ३० रुपैयाँ, २० किलोमिटरसम्म ३३ र २० किलोमिटरभन्दा माथि ३८ रुपैयाँ भाडा तिर्नुपर्नेछ । यस्तै, ट्याक्सीमा सुरुको न्यूनतम ५० र प्रति २ सय मिटरको भाडा १० रुपैयाँ कायम गरिएको छ ।

प्रतीक्षा शुल्क प्रतिमिनेट एक रुपैयाँ २० पैसा तोकिएको छ । बढीमा ३० मिनेटसम्म प्रतीक्षा गर्न पाइनेछ । बेलुका ९ बजेदेखि बिहान ४ बजेसम्म चल्ने रात्रिकालीन ट्याक्सीमा प्रति २ सय मिटरको हकमा १३ रुपैयाँ कायम गरिएको छ।

पछिल्लो पटक भाडा समायोजन गर्दा आधार मानिएको मूल्यको तुलनामा पेट्रोलियम पदार्थको बजार मूल्य पाँच प्रतिशत वा त्योभन्दा धेरै वा कम भएका प्रदेशभित्र सञ्चालन हुने गाडीमा भाडा समायोजन गर्ने गरिन्छ । वाग्मती प्रदेशको श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको निर्णय अनुसार भाडादर समायोजन गरिएको हो ।

Share:

सम्बन्धित समाचारहरु