चितवन । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले लोकतन्त्र बलियो बनाउनका लागि प्रेस जगत् बलियो हुनुपर्ने बताएका छन् । प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसरमा चितवन शाखाले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री गिरीले भ्रस्टाचार र विसंगतिविरूद्ध हिम्मतिलो भएर कलम चलाउन मिडियाकर्मीहरूसँग आग्रह गरे । ‘राजनीतिक रूपमा हामीले धेरै परिवर्तन गर्यौं ।
अबको समृद्धि भनेकै विकास र आर्थिक प्रगति हो । यसका लागि उत्पादनका क्षेत्रहरू विकास गरेर जानुपर्ने आवश्यकता छ । यसमा विसंगति र भ्रस्टाचार पर्खाल बनेर खडा छन्,’ उनले भने, ‘भ्रस्ट्राचारविरूद्ध तपाईहरूबाट बमबारी हुनसकोस् । अहिले त्यो आवश्यकता छ । समाजका विकृतिविरूद्ध कलम चलाउने आँट गर्नुस् । हामीबाट त्रुटि हुँदा तपाईहरुले खबरदारी गर्नुस् ।’ सरकारले मिडियामैत्री कानुन ल्याएर मिडियाकर्मीहरूका समस्या समाधान गर्नुपर्ने उनले बताए ।
नेपालको स्वास्थ्य क्षेत्रमा धेरै विकृति र विसंगति कायम रहेको पनि उनले बताए । ‘अस्पतालसम्म जान नसकेका कारण गाउँ- गाउँमा रोग पालेर बस्नेहरुको संख्या ठूलो छ । गुणस्तरीय सेवाका लागि जनताको पहुँच नभएको अवस्थामा दूरदराजका गाउँसम्म स्वास्थ सेवा लैजाने संकल्पसहित म यस मन्त्रालयको जिम्मेवारी सम्हाल्न आएको हुँ,’ मन्त्री गिरीले भने,’ सातैवटा प्रदेशमा आइसियुसहितका सुविधासम्पन्न अस्पताल खोल्ने तथा गुणस्तरीय ल्याव र उपकरणको व्यवस्था गर्ने, गाउँ-गाउँमा पनि आधारभूत अस्पताल खोलेर हरेक नागरिकलाई स्वास्थ्य सेवा दिने , बिमा कार्यक्रमलाई फराकिलो बनाउँदै धेरैभन्दा धेरैलाई समेट्नेलगायत कार्य योजना कार्यान्वयनमा तपाईहरुको साथ अत्यावश्यक छ ।–00–