चितवन, २३ असार । भरतपुर महानगरपालिका-१ आँपटारीस्थित ऐतिहासिक दियालो बंगला सर्वसाधारणका लागि खुल्ला गरिएकोे छ ।
आज एक समारोहबीच संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले सर्वसाधारणको अवलोकनका लागि उक्त बंगला औपचारिकरूपमा खुलाउनुभएको हो । भरतपुर भ्रमणवर्ष २०२४ लाई लक्षित गरेर सर्वसाधरणका लागि खुल्ला गरिएको हो । नेपालको राजसंस्थाको इतिहास जोडिएको बंगला सर्वसाधारणको लागि खुला गरेसँगै भरतपुर महानगरको पर्यटन वर्षमा टेवा पुग्ने बताउनुभयो।
एउटा शासन व्यवस्थासँग सम्बन्धित बंगलाबारे देशी-विदेशी सबैले अध्ययन अवलोकन गर्न पाउनुपर्ने उद्घाटन कार्यक्रमलाई संवोधनगर्दै मन्त्री तामाङले बताउनुभयो ।
दियालो बंगला नेपाल ट्रष्टको स्वामित्वमा रहेको छ । यसलाई गत चैतमा भरतपुर महानगरपालिकासँग सम्झौता गरी हरेक दुई-दुई वर्षमा नवीकरण गर्ने गरी भरतपुर महानगरको व्यवस्थापनमा सञ्चालन गर्ने निर्णय गरिएको थियो । बंगलालाई संग्रहालयको रूपमा विकास गरी राज परिवारको जीवनशैली अध्ययन गर्न खुला गरिने जनाइएको छ ।
२०१९ सालमा निर्माण गरिएको दियालो बंगलामा राजपरिवार बिदा मनाउन यहाँ आउनुहुन्थ्यो । शिकारका सौखिन तत्कालीन राजा महेन्द्र तराईमा शिकार खेल्न जाँदा यही दरबारमा बस्ने बस्ने गरेको इतिहास छ । २०२८ माघ १७ मा यसै बंगलामा उहाँको निधन भएको थियो ।
त्यसपछि पनि अन्य राजाहरू दियालो बंगलामा आउने गर्दथे । राजा वीरेन्द्रले २०५७ सालमा आफ्नो जन्मोत्सव पनि यही दरबारमा मनाउनुभएको थियो । बंगलामा राजपरिवारले शिकार खेलेर मारेका गोही, बाघका छाला सजाइएको छ । भने विभिन्न ऐतिहासिक सामग्री छन् ।
दरबारको छेउमा महिला सुसारेका लागि ‘नानीगञ्ज’ छ भने सँगै राजाको सुरक्षा गार्डका लागि एडीसी क्वाटर छ । त्यस्तै, राजाले प्रयोग गरेका पलङ पनि सुरक्षित छन् । राजा महेन्द्रको निधन भएको कक्ष, डाइनिङ हल र भान्छाका भाँडाकुँडा, शिकार गर्ने सामग्री, क्याम्प गर्ने संरचना पनि संरक्षण गरेर राखिएको छ ।
दरबारको पहिलो तलाको ठूलो बैठक कक्षको भित्तामा राजा महेन्द्र र वीरेन्द्रको तस्बिर सजाइएको छ । बाघको टाउको जस्ताको तस्तै सजाएर राखिएको छ । राजा महेन्द्रले शिकार गरी मारेको घडियाल गोही भर्याङमा राखिएको छ ।
बंगला नेपाल ट्रष्टको स्वामित्वमा रहेकोले कानूनतः यसको सञ्चालन नियमावली बनाएरमात्रै बनाएर भरतपुर महानगरले सञ्चालनको व्यवस्थापन गर्न पाउने व्यवस्था छ । सोही व्यवस्थाका कारण महानगरले सञ्चालन कार्यविधि बनाएरमात्रै सर्वसाधारणको प्रवेश शुल्क व्यवस्था गरिने जनाएको छ ।
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले हाल सञ्चालन कार्यविधि नभएका कारण सर्वसाधारणलाई निस्शुल्क प्रवेश दिने जानकारी गराइन् । उनले देवघाटको प्रवेशद्वार, पूर्वपश्चिम राजमार्गमै रहेको कारण पर्यटकहरूको आकर्षणको गन्तव्य बन्न सक्ने पनि जनाइन् ।





–00–
साभारः नेपाल प्रेस

