काठमाण्डौं,२५ बैशाख । नवराज सुबेदीको नेतृत्वमा रहेको संयुक्त जनआन्दोलन समितिले आज नयाँ चरणको आन्दोलन घोषणा गर्ने तयारी गरेको छ। आन्दोलनको घोषणा सभाको आयोजना सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा हुनेछ।
आन्दोलनको घोषणा कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा, र राष्ट्रिय शक्ति नेपालका केशरबहादुर विष्टको उपस्थिती रहने छ।
यसका साथै, नेपाली कांग्रेस बीपीका सुशीलमान शेरचन, शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत लगायत विभिन्न राजावादी हिन्दूवादी संघ, संस्था र अभियानका प्रतिनिधिहरू पनि कार्यक्रममा सहभागि हुनेछन्। आयोजकले जानकारी गराएका छन् कि ५० भन्दा बढी संघ-संस्थाले आन्दोलनमा समर्थन जनाउँदै प्रतिबद्धता जनाउनेछन्।
गत चैत्र १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि राजावादी समूहहरू एकजुट भएका छन्, र नयाँ चरणको आन्दोलनको घोषणा गर्दै जनताको अधिकार र राष्ट्रहितको पक्षमा सशक्त आवाज उठाउने तयारीमा छन्।–00–


