नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध, तुइनखोलामा ठूलो ढुङ्गासहित पहिरो

चितवन, १ भदौं ।  इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोला क्षेत्रमा आज बिहान ठूलो ढुङ्गासहितको पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक करिब नौ घण्टा अवरुद्ध भयो ।

बिहान करिब साढे ४ बजे खसेको पहिरो करिब ८ बजे हटाएर सवारी सञ्चालन गरिए पनि पुनः बिहान ९ बजे ठूलो ढुङ्गा खसेर सडक पूर्णरूपमा अवरुद्ध भएको थियो । दिउँसो १ बजे प्रहरी र सडक विभागको टोलीले पहिरो पन्छाएपछि दुईतर्फी सवारी सञ्चालन खुलेको भए पनि अझै माथिबाट ढुङ्गा खस्ने क्रम जारी छ ।

डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर अर्जुन घिमिरेका अनुसार तुइनखोला क्षेत्रलाई सडकको सबैभन्दा जोखिमपूर्ण स्थानका रूपमा पहिचान गरिएको छ । “यहाँ कहिले ठूलो ढुङ्गा खस्छ भन्न सकिँदैन, जोखिम निरन्तर छ,” उनले बताए ।

यसअघि शुक्रबार भारतीय नम्बरप्लेटको ट्रकमा ढुङ्गा खस्दा चालक गम्भीर घाइते भएका थिए । त्यस्तै, हिजो साँझ स्कुटर चालक पनि ढुङ्गा खस्दा घाइते भएका थिए । वर्षा रोकिनासाथ घाम लाग्दा ढुङ्गा चर्किएर खस्ने घटनाले यात्रु थप जोखिममा पर्ने गरेको छ ।

डिभिजन सडक कार्यालयले तत्काल ढुङ्गा खस्ने जोखिम रोक्न नसकिने भएकाले सूचना पाटी राखेर यात्रुलाई सावधानी अपनाउन आग्रह गरेको छ । इन्जिनियर घिमिरेले रक बोल्ट, रक नेट जस्ता प्राविधिक उपाय अपनाउनुपर्ने बताए ।

यस वर्ष वर्षा सुरु भएयता नारायणगढ–मुग्लिन सडक खण्डमा पटक–पटक पहिरो खसेर यातायात अवरुद्ध हुने क्रम बढेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले समेत यात्रुहरुलाई सडकस्थितिबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ ।

प्रहरी प्रमुख एसपी गोबिन्द पुरीले नारायणगढ–मुग्लिन सडकमा दैनिकजसो एक–दुई घण्टा बाटो बन्द हुने अवस्था देखिएको भन्दै सर्वसाधारणलाई विशेष सतर्कताका साथ यात्रा गर्न अनुरोध गरेका छन् । –000—

Share:

सम्बन्धित समाचारहरु