काठमाडौं, २५ वैशाख ।
काठमाडौंको कोटेश्वरमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
दुर्घटनामा परी मोटरसाइकलमा पछाडि सवार नुवाकोट घर भई हाल ललितपुर धोबीघाट बस्ने २३ वर्षीया नगिना तामाङको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। मोटरसाइकल चालक रोल्पा घर भई हाल काठमाडौं बस्ने २७ वर्षीय पदम थापा मगर, भ्यान चालक शान्तिनगरका रत्न सार्की र बसमा सवार यात्रु काँडाघारीकी २० वर्षीया मेनुका बुढाथोकी घाइते भएका छन्।
प्रहरीका अनुसार सडकमा रातो बत्ती बलेको बेला रोकिएको भ्यान र मोटरसाइकललाई पछाडिबाट आएको बसले ठक्कर दिँदा दुर्घटना भएको हो।
आज बिहान करिब ६ः३५ बजे बा ३ ख ७०६२ नम्बरको बसले रोकिराखेका बा प्र ०१–०२६ च २९२७ नम्बरको भ्यान र बा प्र ०२–०५३ प ३८२७ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो। दुर्घटनापछि बसका चालक इलामको सूर्योदय नगरपालिका–५ निवासी ५९ वर्षीय रामकुमार खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।–00–


