काठमाडौं , २२ वैशाख । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा आज (सोमबार)देखि छलफल प्रारम्भ हुँदैछ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको सम्बोधनमा आधारित नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव आजको बैठकमा पेस गर्ने कार्यसूची रहेको छ।
संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार, सो नीति तथा कार्यक्रममाथि सांसदहरूले दिएका संशोधन प्रस्तावहरू पनि प्रस्तुत गरिनेछन्, र सम्बोधनमाथि विस्तृत छलफल हुनेछ। कार्यसूचीअनुसार, प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्नेछ। यसअघि आइतबारदेखि नै राष्ट्रियसभामा सो कार्यक्रममाथि छलफल सुरु भइसकेको छ। राष्ट्रियसभाको बैठक आज दिउँसो १:१५ बजे बस्नेछ।–00–


