उदयपुरको कटारीमा स्कोर्पियो दुर्घटना: दमकका कानुन अधिकृतको मृत्यु, वडाध्यक्षसहित ६ घाइते

उदयपुर, १८ बैशाख – उदयपुरको कटारी नगरपालिका–६ अन्तर्गत मदन भण्डारी लोकमार्गमा बिहीबार भएको एक गम्भीर सवारी दुर्घटनामा झापाको दमक नगरपालिकाका कानुन अधिकृत माधव बस्नेतको मृत्यु भएको छ भने वडाध्यक्षसहित ६ जना घाइते भएका छन्।

दुर्घटना बिहीबार दिउँसो ४:१० बजे कटारी नगरपालिका–६ स्थित सोमबारेमा भएको हो। चितवनबाट झापा फर्किँदै गरेको मे १ च ३०४० नम्बरको स्कोर्पियो गाडी अनियन्त्रित भई सडक साइडमा रहेको फलामको ट्रस्ट बेरियरमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। सवारीमा सवार टोली न्यायिक समितिको कार्यक्रममा सहभागी भई फर्किंदै थिए।

दुर्घटनामा दमक नगरपालिका–३ का ५५ वर्षीय कानुन अधिकृत माधव बस्नेतको कटारीस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। उनी दमक नगरपालिकामा कार्यरत थिए।

घाइतेहरूमा दमक नगरपालिका–१० का वडाध्यक्ष राजेन्द्रप्रसाद भण्डारी र दमक–१ का ४५ वर्षीय राजेन्द्र (ज्ञानेन्द्र) गौतम गम्भीर अवस्थामा छन्। गम्भीर घाइते दुवैलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै अन्य घाइतेहरूमा:

  • देवेन्द्र तामाङ (३८), दमक–९ – दायाँ हात र बायाँ घुँडामा चोट

  • कमल श्रेष्ठ (५४), दमक–६ – टाउको र बायाँ पाखुरामा चोट

  • नवीन खतिवडा (३८), दमक–२ – दायाँ हातमा चोट

  • भुवन दाहाल (५४), गौरादह–१ – टाउको र दायाँ हातमा चोट

घाइतेहरूलाई प्रारम्भिक उपचारपछि कटारीबाट विराटनगर पठाइएको छ।

प्रहरीका अनुसार दुर्घटनाको कारण स्कोर्पियो अनियन्त्रित भएर ट्रस्ट बेरियरमा ठोक्किनु हो। घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।

Share:

सम्बन्धित समाचारहरु