काठमाडौँ, १८ वैशाख — प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरराष्ट्रिय श्रमिक दिवस (मे १) का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमिकहरूलाई सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गरेका छन्।
फेसबुकमा शुभकामना सन्देश पोस्ट गर्दै प्रधानमन्त्री ओलीले श्रमिकको पसिना र समर्पणले देश अघि बढेको र समाज बाँचेको उल्लेख गरेका छन्। उनले लेखेका छन्, “देश अघि बढेको छ श्रमिकको पसिनाले, समाज बाँचेको छ उनीहरूको समर्पणले।”
उनले श्रमिकको सामाजिक सुरक्षाका लागि सुरु गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको उल्लेख गर्दै प्रारम्भमा आलोचना र व्यङ्ग्य सहनु परेको बताए। तर ती सबै नकारात्मक प्रतिक्रियाभन्दा माथि उठ्दै अहिले २० लाखभन्दा बढी श्रमिकले उक्त योजनाबाट लाभ लिइसकेको जानकारी दिएका छन्।
प्रधानमन्त्री ओलीले श्रमिकको श्रम मात्र होइन, भविष्य पनि सुरक्षित बनाउने दिशामा सरकार अग्रसर रहेको स्पष्ट पार्दै भनेका छन्, “छोराछोरीको उज्यालो मुहार, आमाबुबाको निर्धक्क जीवन–श्रमिकको घरमा यिनै परिवर्तन ल्याउन हामी सफल हुँदैछौँ।”
अन्त्यमा उनले श्रम र श्रमिकप्रति सम्मान व्यक्त गर्दै आफूलाई पनि श्रमिककै रूपमा प्रस्तुत गरेका छन्।–00–


