चैत १४ चितवन । चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले माडीको कुसुमखोलामा रहेको १० घरमा आगजनी गरिदिएको छ । निकुञ्जले आफ्नो जंगल क्षेत्रमा घर बनाएर बसोबास गरेको भन्दै स्थानीय बासिन्दाको १० घरमा आइतबार आगलागी गरिदिएको हो ।
चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीको नेतृत्वमा गएका नेपाली सेना सहितको टीमले स्थानीयको घरमा आगो लगाएका हुन् । ‘एकपटक स्थानान्तरण गरिसकेपछि पुनः गएर घर बनाएको हुनाले निकुञ्जले घर जलाएको हो’ निकुञ्ज स्रोतले भन्यो, ‘मानवीय र भौतिक क्षति नहुने गरि नयाँ बनाइएको संरचनामा मात्रै आगो लगाइएको हो ।’
आगजनी भएको खबर पाएसंगै माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकाल सहितको टीम सो क्षेत्रमा आइतबार साँझ नै पुगेको छ ।सो क्रममा प्रतिक्रिया दिँदै नगरप्रमुख ढकालले जनताको सुरक्षित स्थानान्तरणको काम जारी नै रहँदा स्थानीय सरकारसंग समन्वय नगरी आगजनी गरिनु दुखद् रहेको बताउनुभयो ।