बजार क्षेत्रमा झोला तान्दै जबरजस्ती गाडीमा चढाउन खोज्ने ४४ जनालाई चितवन प्रहरीले नियन्त्रणमा लियो

चितवन, २७ बैशाख । नारायणगढ बजार क्षेत्रमा यात्रुहरुको झोला तान्दै जबरजस्ती गाडी चढाउन खोज्ने ४४ जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ ।

नारायणगढ बजार क्षेत्रका विभिन्न स्थानहरू—पुलचोक, पोखरा बसपार्क, चौविसकोटी, केन्द्रीय बसपार्क र आपटारी आसपास—मा यात्रुहरूको झोला तान्ने, जबरजस्ती गाडी चढाउने, मनपरी भाडा असुली गर्ने तथा यात्रुहरूलाई हैरानी दिने गुनासोहरू बढ्दै गएपछि उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

वैशाख २६ र २७ गते प्रहरी निरीक्षकको कमाण्डमा विशेष प्रहरी टोली परिचालन गरी ती कार्यमा संलग्न ४४ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई कानुनी तथा ट्राफिक नियम सम्बन्धी सचेतनामूलकू कक्षा सञ्चालन गरी उनीहरूलाई कानुनी जानकारी र नागरिक कर्तव्यबारे चेतना प्रदान गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ।

कार्यक्रमपछि सबै ४४ जनालाई आफन्तको जिम्मा लगाई छाडिएको छ । यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूमाथि निरन्तर निगरानी र आवश्यक कारबाही जारी राख्ने चितवन प्रहरीले जनाएको छ।  जिल्ला प्रहरी कार्यालय चितवनले जनतालाई यात्रा सुरक्षाको प्रत्याभूति दिने उद्देश्यले यस्ता सचेतनामूलक कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।

–00–

Share:

सम्बन्धित समाचारहरु