एकता कार्यक्रमकै दिन रेशम चौधरी पक्राउ, जनमत–नाउपा एकता अन्यौलमा

काठमाडौं,  १७ वैशाख । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी आज प्रज्ञा भवन, कमलादीबाट पक्राउ परेका छन्।

आजै नाउपा र जनमत पार्टीबीचको पार्टी एकता घोषणा कार्यक्रम तय भएको थियो। प्रहरी स्रोतका अनुसार, चौधरीलाई कमलादीस्थित प्रज्ञा भवन परिसरबाट सादा पोशाकमा रहेका प्रहरी टोलीले नियन्त्रणमा लिएर डिल्लीबजार कारागार पु‍र्‍याएको हो। तर, उनलाई पक्राउ गर्नुको कारण खुलाइएको छैन।

टीकापुर घटनाका प्रमुख आरोपी मानिएका चौधरी २०७२ सालको घटनापछि जेल सजाय भोगिरहेका थिए। उनलाई राष्ट्रपतिबाट विशेष क्षमाप्राप्त गरी २०८० जेठ १५ गते जेलमुक्त गरिएको थियो।

जनमत र नागरिक उन्मुक्ति पार्टीबीचको एकता घोषणा गर्न प्रज्ञा भवनमा आयोजित कार्यक्रममा दुबै पार्टीका शीर्ष नेता र कार्यकर्ता उपस्थित भएका थिए। तर रेशम चौधरी पक्राउमा परेपछि कार्यक्रम अन्यौलमा परेको बताइएको छ।

यसबारे थप विवरण आउन बाँकी छ।–00–

Share:

सम्बन्धित समाचारहरु