कालिका नगरपालिकाको निर्देशन: वैशाख १५ देखि सामुदायिक विद्यालयमा नियमित कक्षा सञ्चालन गर्नु

चितवन, १२ वैशाख । चितवनको कालिका नगरपालिकाले क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयलाई नियमित कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ। नगरपालिकाका प्रशासकीय अधिकृत देवराज चौलागाईले शुक्रबार एक विज्ञप्ति जारी गर्दै विद्यालयका शिक्षकहरूलाई वैशाख १५ गतेदेखि विद्यार्थी भर्नासँगै पठनपाठन अगाडि बढाउन आग्रह गरेका हुन्।

नगर प्रमुख विनोद रेग्मीको आदेश अनुसार सामुदायिक विद्यालयमा हाल प्रभावित रहेको विद्यार्थी भर्ना प्रक्रिया पुनः सुचारु गर्न र शिक्षण सिकाइ प्रक्रिया नियमित गर्न भनिएको छ।

शैक्षिक आन्दोलनका कारण वैशाख २ गतेदेखि सुरु हुने भनिएको भर्ना अभियान प्रभावित भएको छ। प्रशासकीय अधिकृत चौलागाईले जारी गरेको पत्रमा भनिएको छ, “विद्यालयमा समयमा भर्ना भई अध्ययन गर्न पाउने विद्यार्थीको अधिकार सुनिश्चित गर्न नगर प्रमुखको आदेश अनुसार वैशाख १५ गतेदेखि नियमित पठनपाठन सञ्चालन गर्न अनुरोध गरिएको छ।”

सामुदायिक विद्यालयका शिक्षकहरू चैत २० गतेदेखि शिक्षा ऐन लागू गर्नुपर्ने मागसहित काठमाडौं केन्द्रित आन्दोलनमा छन्। उनीहरूले ऐन जारी नभएसम्म विद्यालय नफर्किने अडान लिएका छन्। यता, निजी विद्यालयहरूमा भने कक्षा नियमित रूपमा सञ्चालन भइरहेका छन्।–00–

Share:

सम्बन्धित समाचारहरु