२४ थरी ल्याब परीक्षण बन्द

स्वास्थ्य बीमा दावी भुक्तानी रोकिदा भरतपुर अस्पतालको सेवा प्रभावित

सन्तकुमार चौधरी-
चितवन, ११ वैशाख ।
स्वास्थ्य बीमा दावी भुक्तानी रकम लामो समयदेखि निकासी नहुँदा भरतपुर अस्पतालको स्वास्थ्य बीमा कार्यक्रम प्रभावित भएको छ। अस्पताल प्रशासनका अनुसार स्वास्थ्य बीमा बोर्डबाट ५० करोड रुपैयाँभन्दा बढी दावी भुक्तानी प्राप्त गर्न बाँकी छ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा. डा. कृष्णप्रसाद पौडेलका अनुसार “भुक्तानी रकम तत्कालै आउने संकेत समेत देखिएको छैन।” उनका अनुसार समयमै भुक्तानी नआए अस्पताल सञ्चालनविकास गतिविधि प्रभावित हुने खतरा छ।

भरतपुर अस्पतालमा स्वास्थ्य उपचारका लागि आउने ७० प्रतिशत बिरामी स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सेवा लिने गरेको उल्लेख गर्दै मेसु पौडेलले बीमाबाट हुने २४ थरी ल्याब परीक्षण रोकिएको जानकारी दिए। भवन निर्माणबाहेक अन्य औषधी र उपकरण खरिदमा मात्रै १२ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको उनले बताए।

अस्पतालको स्वास्थ्य बीमा शाखा प्रमुख लीलाधर पौडेलका अनुसार सबैभन्दा धेरै स्वास्थ्य बीमा सेवाग्राही भरतपुर अस्पतालमै हुने गर्छन्। उनका अनुसार अस्पतालबाट मासिक ६ करोड रुपैयाँ बराबरको बीमा दावी हुने गरेको छ।

अस्पतालमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा शाखा अधिकृत तुलसीराम आचार्यले माघदेखि चैतसम्म सम्पन्न प्रमुख क्रियाकलापबारे जानकारी दिए। सोही कार्यक्रममा फ्रेण्ड्स अफ भरतपुर अस्पताल का नयाँ पदाधिकारीहरूको नाम सार्वजनिक गरिएको थियो।

फ्रेण्ड्स अफ भरतपुर अस्पतालको पुनर्गठित समितिको संयोजकमा डा. केशवराज भुर्तेल, उपसंयोजक अजिता अधिकारी, सचिव उपेन्द्र पण्डित, सहसचिव दीपेन्द्र खरेलकोषाध्यक्ष अर्जुन अधिकारी चयन भएका छन्। कार्यक्रम अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा आयोजना गरिएको थियो । –00–

Share:

सम्बन्धित समाचारहरु