इंग्ल्यान्डलाई हराउँदै भारत १० वर्षपछि विश्वकपको फाइनलमा

काठमाण्डौ, १४ असार ।

दोस्रो सेमिफाइनलमा साविक विजेता इंग्ल्यान्डविरुद्ध ६८ रनको जित निकाल्दै भारत आईसीसी ट्वान्टी–२० विश्वकप–२०२४ को फाइनल प्रवेश गरेको छ ।

भारत यसअघि सन् २००७ र २०१४ मा विश्वकपको फाइनलमा प्रवेश गरेको थियो । २००७ मा भएको ट्वान्टी–२० विश्वकपको उपाधि जित्दा २०१४ मा भने भारत श्रीलंकासँग निराश बनेको थियो ।

बिहीबार गुयनामा सम्पन्न खेलमा भारतले प्रस्तुत गरेको १७२ रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्डले १६।४ ओभरमा सबै विकेट गुमाएर १०३ रनमात्र बनाउन सक्यो ।

इंग्ल्यान्डका ह्यारी ब्रुकले २५ रन बनाए । कप्तान जस बटलरले २३, जोफ्रा आर्चरले २१ र लियम लिभिङस्टोनले ११ रन थपे । यसबाहेक, इंग्लिस टिमका अन्य ब्याटर दोहोरो अंकको रनसम्म पुग्न सकेनन् ।

इंग्ल्यान्डलाई सस्तैमा रोक्न भारतका स्पिनर हाबी बने । भारतका अक्षर पटेल र कुलदीप यादवले समान तीन विकेट लिए । जसप्रित बुमराहको नाममा एक विकेट रह्यो ।

त्यसअघि कप्तान रोहित शर्माले अर्धशतक बनाउँदा टस हारेर ब्याटिङमा आएको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७१ रनको योगफल खडा गरेको थियो ।

भारतका कप्तान तथा ओपनर ब्याटर रोहितले ५७ रन बनाए । उनले ३९ बलमा ६ चौका र दुई छक्का प्रहार गरे । जारी विश्वकपमा रोहितको यो तेस्रो अर्धशतक हो । उनले यसअघि सुपर–८ को अन्तिम खेलमा अस्ट्रेलियाविरुद्ध ९२ रन बनाएका थिए ।

Share:

सम्बन्धित समाचारहरु