आज लोकतन्त्र दिवस,देशैभर विविध कार्यक्रमगरी मनाइँदै

काठमाडौं ,११ बैशाख ।  आज देशभर १९औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। लोकतान्त्रिक र प्रजातान्त्रिक आन्दोलनमा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरिँदै, शान्तिपूर्ण राजनीतिक परिवर्तनका अग्रदूतहरूको योगदानलाई स्मरण गरिँदै दिवस मनाइएको हो।

वि.सं. २०५९ जेठ ८ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटित संसद् पुनःस्थापना गरी कार्यकारी अधिकार त्यागेको र निरङ्कुशता पराजित भएको वि.सं. २०६३ वैशाख ११ को दिनको सम्झनामा हरेक वर्ष लोकतन्त्र दिवस मनाइन्छ।

पूर्वराजा शाहको घोषणामा उल्लेख थियो, “राज्यशक्तिको स्रोत नेपाली जनता हुन् र नेपालको सार्वभौमसत्ता जनतामै निहित छ। जनआन्दोलनमार्फत व्यक्त जनभावनाअनुरूप प्रतिनिधिसभा पुनःस्थापित गरिएको हो।”

वि.सं. २०६३ वैशाख १५ मा प्रतिनिधिसभाको बैठक आह्वान गर्दै सात राजनीतिक दल र तत्कालीन विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को सहभागितामा भएको जनआन्दोलन सफल भएको थियो। त्यसपछि नेपालले दुईवटा संविधानसभाको निर्वाचनबाट वि.सं. २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्‍यो।

संविधान कार्यान्वयनसँगै संघ, प्रदेश र स्थानीय तहको निर्वाचन दुईपटक सम्पन्न भइसकेको छ र अहिले देश संघीय प्रणालीको अभ्यासमा छ। सेवा–सुविधा जनताको घरदैलोमा पुर्‍याउने, विपद्का बेला तत्काल राहत तथा सहयोग पुर्‍याउने मामिलामा तीन तहबीचको समन्वय सकारात्मक देखिएको छ।

यस अवसरमा परिवर्तन र शान्तिका पक्षधर नेताहरूले शुभकामना सन्देश दिँदै देशको समृद्धिका लागि सबै शक्ति एकजुट हुनुपर्नेमा जोड दिएका छन्। लोकतन्त्रभन्दा उत्कृष्ट शासन व्यवस्था अरू केही हुन नसक्ने भएकाले यसलाई सुदृढ गर्दै समृद्धितर्फ अघि बढ्नुपर्ने उनीहरूको धारणा छ।

वि.सं. २०६२/६३ को ऐतिहासिक जनआन्दोलनपछि वि.सं. २०६५ सालदेखि वैशाख ११ गतेलाई लोकतन्त्र दिवसका रूपमा मनाउने गरिएको हो।–00–

Share:

सम्बन्धित समाचारहरु