चितवन, ५ चैत्र । चितवनमा पहिलोपटक अन्तर्राष्ट्रिय नाट्य महोत्सव आयोजना हुने भएको छ । आउँदो चैत १० देखि १२ गतेसम्म नाट्य महोत्सव सञ्चालन हुन लागेको कार्यक्रम संयोजक देवकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार अन्तराष्ट्रिय स्तरको नाटक महोत्सवहुन लागेको चितवनमा यो पहिलो पटक हो ।
तरङ्ग नाट्य समूह चितवन, कर्मी चौतारी चितवन र नारायणी कला मन्दिरको संयुक्त आयोजनामा हुने नाट्य महोत्सवले चितवनको पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने विश्वस छ । चितवनलाई नाट्य पर्यटनको विकाससँग जोड्नका लागि पनि यो महोत्सवले विशेष भूमिका खेल्ने आयोजकका दावी छ । विविध सांस्कृतिक तथा ऐतिहासिक सम्पदाले भरिएको चितवन जिल्लामा विकसित हुँदै गरेको नाट्य परम्परालाई संरक्षण र प्रर्वद्धनका लागि पनि यस महोत्सवले भूमिका खेल्ने संयोजक श्रेष्ठको भनाई छ ।
महोत्सवका निर्देशक अञ्जान प्रदीपले चितवनको कलायुक्त भूमिबाट नेपाली नाट्य संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउनका लागि सहयोग मिल्ने बताउनुभयो । उहाँका अनुसार महोत्सवमा नेपालसहित जापान, इरान, स्पेन, लिथुवानिया र भारतका पाँच नाटक एउटै मञ्चमा मञ्चन हुनेछन् ।
महोत्सवमा सहभागी हुन पाँच राष्ट्रबाट करिब ४० कलाकारहरुको उपस्थिति रहने आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । ‘यो महोत्सवबाट करिब तीन हजार स्थानीय विभिन्न कोणबाट लाभान्वित हुने लक्ष्य लिइएको छ ।
राजधानीस्थित मण्डला थिएटरमा हुने तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवको अवसर पारेर चितवन जिल्लामा पनि नाट्य महोत्सव गर्ने तयारी गरेको आयोजकले जनाएको छ । महोत्सवको नारायणी कला मन्दिरतर्फका संयोजक निरञ्जन प्रधानका अनुसार यस महोत्सवले चितवन जिल्लाको कला, संस्कृति, र पर्यटनलाई प्रर्वद्धन गर्दै स्थानीय तथा अन्तर्राष्ट्रिय रङ्गकर्मीहरुलाई अनुभव र ज्ञान आदानप्रदान गर्ने अवसर प्रदान गर्नेछ ।—00—


