कालिका, २८ भदौं । कालिकाको वडा नं. २ मा मुख्य कार्यालय स्थापना गरेर सेवा दिदै आएको चेतना चेली बहुउद्देश्यीय सहकारी संस्थाको नवौं वार्षिक साधरण सभा शुक्रवार सम्पन्न भएको छ । साधरण सभाको कालिका नगरपालिका प्रमुख विनोद रेग्मीले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रलाई संवोधनगर्दै नगर प्रमुख रेग्मीले नगरको विकासमा सहकारीहरुको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । चेतनाचेली बहुउद्देश्य सहकारी संस्थाले महिलाहरुलाई आर्थिक पाटोमा बलियो बनाउने काम मात्रै नभई सिंंगो नगरको विकासमा महत्पूर्ण योगदान दिएको बताउनुभयो ।
अरुको कुरा सुनेर अफ्वाहको पछि नलागि संस्थाको उद्देश्य अनुसार कामगर्न समेत उहाँले आग्रहगर्नुभयो । महिलाहरुले संचालन गरेको यो सहकारीको व्यवस्थापकीय पाटो लोभ लाग्दो रहेको भन्दै सहकारीको काम र सबैको एकताप्रति खुलेरै प्रशंसागर्नुभयो । कार्यक्रममा कालिका नगरपालिकाका उपप्रमुख विमला तामाङ, वडा नं. २ का वडा अध्यक्ष लक्ष्मण पौडेल, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष भीष्मप्रसाद खनाल, कालिका नगपालिकाका सहकारी विभाग प्रमुख प्रकाशचन्द्र पौडेल, कृषि विकास बैक लिमिटेड टाँडी शाखा प्रमुख राजकुमार बस्नेत, आफन्त नेपाल चितवनका प्रमुख अनिता खड्का, लेखा परीक्षक भवदत्त शर्मा, मातृभूमी कृषी तथा पशुपन्छी सहकारी संस्थाका अध्यक्ष हिरामणी पोख्रेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा सहकारी स्थापनादेखि हाल सम्म व्यवस्थापकीय पाटो देखि अन्य क्षेत्रमा निरन्तर सहयोग गरेर महत्वपूर्ण योगदान दिएकोमा सहकारी अभियन्ता नारायण भट्टराईलाई नगद सहित प्रमाणपत्रले सम्मान गरिएको थियो । यस्तै संस्थाको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुर्याएकोमा अम्बर बहादुर तामाङ, कृर्ति गुरुङलाई सम्मान पत्र र मालाले सम्मान गरिएको थियो । यस्तै संस्थाको आर्थिक विकासमा सहयोग गरेको भन्दै किङ्ग फिसर कन्ट्रक्सन प्रा.लिका संचालकलाई दोसल्ला ओढाई सम्मान पत्र र मालाले सम्मान गरिएको छ ।

साधरण सभाको अवसरमा तीनजना असल ऋणिहरुलाई नगद सहित सम्मान गरिएको छ । सम्मानित हुनेमा शान्ति चेली समुहकी मनमाया लामा, कालिका चेली समुहकी ऐश्वर्य गुरुङ, उज्वल चेली समुहकी रसा गुरुङ रहेका छन् । उनीहरुलाई जनही ५ सय रुपैयाँ नगद सहित सम्मान गरिएको हो ।
यसैगरी संस्थावाट ऋण लिएर आर्यआर्जनका लागि व्यवसायिक बाख्रापालन गर्दै आउनुभएकी तुलकुमारी दरैलाई व्यवसायिक कृषक सम्मान गरिएको छ । उहाँलाई बाटा प्रदान गरिएको थियो ।
यस्तै संस्थाले संचालन गरेको चेतनामूलक कार्यक्रममा सक्रिय भूमिका निर्वाह गरे वापत तीनजना चेलीहरुलाई समेत नगद ५ सय रुपैयाँ र खादाले सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरुमा नमुना चेली समुहकी बिर्सना फ्रयूवा, यूनिक चेली समुहकी नानीमैया नेगी, उज्वल चेली समुहकी दिप्ती गुरुङ रहेका छन् ।

यस्तै सहकारीले बार्षिक साधरण सभाकै अवसरमा २०८० सालको एसइई परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने दुईजना विद्यार्थीलाई सम्मान गरेको छ । सम्मानितहुनेहरुमा भीमोदय नमुना माध्यमिक विद्यालयबाट ३ दशमलव ५६ जिपिए ल्याएर पास भएकी कुसुम आचार्य र पृथ्वी माध्यमिक विद्यालय भटेनीवाट ३ दशमलव ७५ जिपिए ल्याएर पास भएकी अपेक्षा गजुरेल रहेका छन् ।
कार्यक्रम चेतना चेली बहुउद्देश्यीय सहकारी संस्था लि. का अध्यक्ष विष्णु लामाको अध्यक्षतामा आयोजना गरिएको हो ।
सहकारीले चेलीहरुबीच समुह बनाई मासिक बचत संकलन देखि पाठी पैचो कार्यक्रम, पशुधन सुरक्षण कार्यक्रम अन्तर्गत पशु बीमा कार्यक्रम, व्यवसायिक तरकारीखेती, व्यवसायिक बाख्रापालन देखि विभिन्न आर्यआर्जनका लागि च्याउखेती, सीपमुलक कार्यक्रमलाई जोड दिँदै आएको छ ।



—00—-


