चितवन । सुत्केरी गराउन आएकी एक महिलाको मृत्यु भएपछि भरतपुर अस्पतालमा मृतकका आफन्तहरूले नाराबाजी गरेका छन् ।
पर्सा स्थायी घर भई हाल चितवनको कालिका नगरपालिका–२ बस्ने ३० वर्षीया संगीता विकको शनिबार उपचारको क्रममा मृत्यु भएपछि परिवारजन र आफन्तहरूले चिकित्सकको लापरबाहीका कारण ज्यान गएको भन्दै अस्पताल परिसरमा विरोध प्रदर्शन गरेका हुन् ।
प्रसूति सेवा लिने महिलाहरू भर्ना हुने वार्ड अगाडि पुगेका आफन्तहरूले नाराबाजी गर्दै छानबिन र दोषी चिकित्सकविरुद्ध कारबाहीको माग गरेका थिए । परिवारका अनुसार संगीतालाई कात्तिक २० गते चेकजाँचका लागि अस्पतालमा भर्ना गरिएको थियो । भिडियो एक्स–रेमा गर्भस्थ शिशुको धड्कन नदेखिएपछि चिकित्सकको सल्लाहमा उनलाई नर्मल डेलिभरीको प्रयास गरिएको थियो ।
तर, २२ कात्तिकमा उनको स्वास्थ्य अवस्था बिग्रँदै गएको र राति करिब ९ बजे आईसीयूमा सारिएको अस्पतालले जनाएको छ । सोही राति ११:४० बजे उपचारको क्रममा उनको मृत्यु भएको हो । अस्पतालका प्रवक्ता तथा स्त्रीरोग विशेषज्ञ डा. रामप्रसाद सापकोटाका अनुसार संगीता विकको मृत्यु पल्मोनरी एम्बोलिजम (फोक्सोमा रक्तनली अवरुद्ध हुने समस्या)का कारण भएको हो । उनका अनुसार “उपचारमा कुनै लापरबाही भएको छैन, हामीले सक्दो प्रयास गरेका थियौं,” भन्ने दाबी गरिएको छ ।
तर, मृतकका आफन्तहरू भने फरक मत राख्छन् । उनीहरूको भनाइमा, शिशुको धड्कन नदेखिएको अवस्थामा पनि तत्काल शल्यक्रिया नगरी ढिलाइ हुँदा संगीताको ज्यान गएको हो । अस्पताल प्रशासनले भने शिशुको मृत्यु गर्भमै भइसकेको पुष्टि भएपछि आमाको सुरक्षालाई ध्यानमा राखी नर्मल डेलिभरीको प्रयास गरिएको बताएको छ ।
संगीता विकलाई सुत्केरी हुनका लागि दिइएको व्यथा बढाउने औषधि चलाएलगत्तै ‘कार्डियाक अरेस्ट’ भएको र तत्काल सीपीआर दिँदै आईसीयूमा सारिए पनि बचाउन नसकिएको अस्पतालले जनाएको छ । हाल घटनाबारे विस्तृत अनुसन्धान भइरहेको र आवश्यकता अनुसार स्वास्थ्य निकाय तथा प्रशासनसँग सहकार्य गरी सत्य तथ्य सार्वजनिक गरिने अस्पतालले जनाएको छ ।–00–


