चितवन, २४ असार । थारुहरुको धार्मिक आस्थाको धरोहर मानिने चित्रसारी मन्दिर क्षेत्रमा गंगा आरतीगर्ने विषयमा चितवनका थारुहरुले विरोध जनाएका छन् । चित्रसेन बाबा मन्दिर व्यवस्थापनसँग भएको सहमति विपरित चित्रसेन बाबा मन्दिर आरती व्यवस्थापन समिति बनाएर धार्मिक अतिक्रमणगर्न खोजेको आरोप लगाएका छन् ।
चित्रसेन बाबा मन्दिर सम्बन्धी थारु समुदायको छातासंस्था थारु कल्याणकारिणी सभा क्षेत्र नं. ८ ले आज(सोमवार) आयोजना गरेको वृहत छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागि थारु अगुवाहरुले यो वा त्यो वहानामा आफुहरुको धार्मिक आस्थाको धरोहरमाथी आक्रमणगर्न खाजेको आरोप लगाएका छन् ।
मन्दिर व्यवस्थापन समितिले सुरुमा मन्दिरको ठिक पारीपट्टी वडा नं. ७ मा गंगा आरतीगर्न दिने बारे सहमति दिएको थियो । पछि मन्दिर क्षेत्रमै गंगा आरतीगर्ने तयारी गरे । आरती व्यवस्थापन उप समिति बनाउने सहमति भएको थियो तर मन्दिर व्यवस्थापन समितिसँग भएको सहमति विपरित चित्रसेन बाबा मन्दिर आरती व्यवस्थापन समिति बनाए । समितिका केही पद्धाधिकारीहरुले गंगा आरतीगर्ने भनिएको ठाउँ (मन्दिर क्षेत्रका नदी)मा शिवको मुर्ती बनाउने योजनाहरु सार्वजनिक गर्न थालेपछि थारु समुदायले शंकागर्न थाले ।
मन्दिर व्यवस्थापनका अध्यक्ष जलराम चौधरी ले मन्दिर क्षेत्रमा कुनैपनि खालका संरचना बनाउने विषयमा छलफल नभएको बताए । मन्दिर क्षेत्रमा थारु समुदायको इच्छा विपरित कुनैपनि थप संरचना बनाउन दिँदैनौं उनले भने– वडाबासीहरुकै सल्लाह अनुसार आरतीगर्न दिने सहमति दिएका थियौं ।
चित्रसारी मन्दिर गोठौलीका थारु समुदायले संरक्षणगर्दै आएको छ ।
रत्ननगर वडा नं. ७ का वडा अध्यक्ष सजना महतोले विकासको नाउँमा पुरानो धार्मिक तथा प्राकृतिक सम्पदाहरुको स्वरुप विगार्न नहुने बताउनुभयो । चित्रसेनबाबाको मन्दिरमा भोगभात अर्थात बली चढाउने चलन छ । भोग (बली) चढ्ने ठाउँमा गंगा आरतीहुँदैन । गंगाकै पुजा आरधनागर्ने हो भने चित्रसेनबाबाकै मन्दिर छेउछाउमा किन गर्न पर्यो ? उनले भने यस्ता अन्य धेरै ठाउँहरु छन जहाँ गंगा आरतीगर्न सकिन्छ । गंगा आरतीगर्ने बारेको पहिलो बैठकमा वडा नं. ७ का वडा अध्यक्ष महतोपनि सहभागि थिए । त्यो बेला मन्दिरको पारी पट्टीगंगा आरतीगर्ने भनिएको थियो । पछि मन्दिर क्षेत्रमै आरतीगर्ने तयारी भएछ उनले भने– यो कुरा हामीलाई स्वीकार्य छैन ।
यस्तै रत्ननगर वडा नं. ४ का वडा अध्यक्ष चित्रसारी मन्दिरमा बढ्दै गएको अतिक्रमणले ठाउँ साँघुरोहुँदै गएको बताए । ठाउँ साँघुरो भएका कारण मेला लगाउन समेत समस्या छ उनले भने – भोली अरु संघसंस्थाले यो वा बनाउँछु भनेर माग्न आउँला । ठाउँ अभावले बाटोमा मेला लगाउन बाध्य छौं । चित्रसारी मन्दिर संरक्षणगर्ने दायित्व हामीसबैको हो उनले थपे ।
बैठकमा थारु कल्याकारिणी सभाका केन्द्रीय पार्षद चन्द्राकुमारी चौधरीले थारुहरुको आस्थाको धरोहरमाथी कसैलेपनि गिद्धेनजर लगाउन नपाउने बताइन् । पुस्तौंदेखि संरक्षणगर्दै आएको आस्थाको धरोहरलाई अहिले आएर कसैले लुट्न खोजे चुप लागेर बस्न नहुने तर्क गरिन । थारु समुदाय प्रकृतिको पुजारी हो । हाम्रा देवी देवताहरु स्वतन्त्र छन् । हामीले हाम्रो देवी देवताहरुमा डिष्टप भएको होस भन्ने चाहन्नौं उनले थपिन ।
चित्रसेन बाबा जे हुनुहुन्छ ठिक हुनुहन्छ थप मठमन्दिर बनाएर त्यहाँ वरिपरि अनेक गतिविधि गरेर डिष्टपगर्न आवश्यक छैन । यो विषयमा सशक्त आवाज उठाउन आवश्यक रहेको बताइन । उनले आवश्यक परे आफुहरुको आस्थाको धरोहर जोगाउन संघर्ष समिति बनाएर परामर्श गर्न समेत सुझाव दिइन ।
बैठकमा वडा नं. ६ का वडा सदस्य वीरेन्द्र चौधरीले थारुथारु जुधाउने षडयन्त्र भइरहेको आशंका व्यक्त गरे । चित्रसारी मन्दिरकै जग्गामा स्कुल बनेको छ उनले भने – स्कुलले त्यही जग्गामा सटर बनाएर व्यापार गरिरहेको छ । मन्दिरले एकपैसापनि पाउँदैन । स्कुल बनाउन, सभाहल बनाउने नाउँमा मन्दिरको जग्गा अतिक्रमण भइरहेको छ उनले थपे । गोठौलीका थारु समुदायले बरमथानको रुपमा त्यो ठाउँमा पुजागर्दै आएका थिए । अहिले सबैको साझा धार्मिक आस्थाको केन्द्र बनेको छ । मन्दिर संरक्षणमा सबैभन्दा बढी गौठौलीका थारुहरु जुट्नुपर्ने दायित्व हो । गंगा आरतीको नाउँमा केहीवर्षमा सबै जग्गा अतिक्रमणगर्ने योजना छ । गंगा आरती र थारुहरुको भोग चढ्ने एकै ठाउँमा हुँदैन ।
गंगा आरती छोटो समयका लागि गर्ने भनिएको थियो । छोटो समयका लागि मात्रै भए उप – समिति बनाएर गरे हुन्थ्यो । तर चित्रसेन बाबा मन्दिर व्यवस्थापन समिति बनाएर यसलाई बैधानिकता दिने बाटोमा समिति जुटेको छ । वडा कार्यालयवाट गंगा आरती अक्षयकोष स्थापनाका लागि शिव पुराण महायज्ञ तथा महायज्ञमा दानचन्दा भेटी संकलन सहित सातदिने शिवपुराण महायज्ञगर्नका लागि सिफारिस समेत बनाए । सोही सिफारिस बमोजिम नगरपालिकाले पनि आरती संचालनका लागि अनुमति दिएको छ ।
समितिले धार्मिक कार्यक्रम तथा गतिविधिका लागि समितिलाई दर्ता गरेर स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारवाट बजेट ल्याएर सो क्षेत्रमा थप संचरना बनाउने भित्री योजना छ । समितिले भित्र देखिनै चित्रसारी मन्दिरको विकास चाहन्छ भने चित्रसेन बाबाकै मन्दिर बनाउन किन चासो दिँदैन बैठकमा सहभागि भएकाहरुले प्रश्न गरे ?
स्थानीय युवा धनराज महतोले आरती व्यवस्थापन समितिको गतिविधिले आफुहरु सशंकित भएको बताए । वडा अध्यक्षलाई समेत झुक्याएर सिफारिस लगेका उनले शंका व्यक्त गरे । चित्रसेन बाबाकै नाउँवाट चितवनको नाम रहन गएको दरिलो इतिहास हामीसँग छ उनले भने– यसको पहिचान मेटाउन सक्ने डरलाग्दो प्लान छ भन्ने हामीले बुझेका छौं ।
थारु कल्याणकारिणी जिल्ला सचिव सन्तकुमार चौधरीले यो चित्रसारी मन्दिर क्षेत्रमा भइरहेका पछिल्लो गतिविधिलाई धार्मिक अतिक्रमणको रुपमा व्याख्या गरे । चित्रसारी मन्दिर क्षेत्रमा गंगा आरती संचालनगर्ने अभियान तत्काल रोकिनुपर्ने बताए । यो अभियान नरोकिए थप संघर्षका कार्यक्रमगर्न थारु कल्याणकारिणी सभा पछि नहट्ने स्पष्ट पारे ।
कार्यक्रममा थारु कल्याणकारिणी सभा क्षेत्र नं. ६ का क्षेत्रीय सभापति राधा महतो, थारु कल्याणकारिणी सभा चितवनका जिल्ला सल्लाहकार लक्ष्मी चौधरी, कोषाध्यक्ष सविता चौधरी लगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए । कार्यक्रम थारु कल्याणकारिणी सभा क्षेत्र नं. ८ का क्षेत्रीय सभापति रामेश्वर महतोको अध्यक्षतामा आयोजना गरिएको थियो ।












—00–


