अमेरिका भन्यो- “युद्ध समाधान होइन, भारत–पाकिस्तान वार्तामा बस्नुपर्छ”

 काठमाडौं, २६ वैशाख । भारत र पाकिस्तानबीच जारी तनावका बीच, अमेरिकाले दुवै पक्षलाई युद्ध रोक्न र कूटनीतिक वार्तामा बस्न आग्रह गरेको छ। अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता ट्यामी ब्रुसले युद्धले कुनै समाधान नदिने स्पष्ट पार्दै सैन्य कारबाही तुरुन्त रोक्न आग्रह गरेकी हुन्।

“हिंसा, सैन्य कारबाही र युद्ध रोकिनुपर्छ, अमेरिकाको सन्देश यही हो,” ब्रुसले पत्रकार सम्मेलनमा भनिन्। उनले मध्यपूर्वको उदाहरण दिँदै भनिन्, “हामीले देखेका छौं, युद्ध समाधान होइन।”

ब्रुसका अनुसार, “पुस्तौंदेखिका हिंसा र समस्यालाई रोक्न नयाँ विचार र कूटनीति नै समाधान हुन्।”

अमेरिकी मध्यस्थता खुलासा गरेन-

भारत–पाकिस्तानबीच अमेरिका कुनै मध्यस्थता गरिरहेको हो वा होइन भन्ने पत्रकारको प्रश्नमा ट्यामी ब्रुसले प्रत्यक्ष रूपमा पुष्टि या अस्वीकार गरिनन्। उनले भनिन्, “जब नेताहरू कूटनीतिक तहमा वार्तामा हुन्छन्, हामी त्यसको जानकारी सार्वजनिक गर्दैनौं। यो हाम्रो नीति हो।”

उनले पत्रकारहरूलाई स्मरण गराइन् कि वार्ताका संवेदनशील चरणहरूमा गोपनीयता आवश्यक हुन्छ।

विदेशमन्त्री रुबियोको फोन संवाद-

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतीय विदेशमन्त्री एस. जयशंकर र पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफसँग टेलिफोन संवाद गरेका छन्। ब्रुसका अनुसार, रुबियोले दुवै देशलाई तनाव कम गर्न, हिंसा रोक्न र प्रत्यक्ष वार्तामा जोड दिन आग्रह गरेका छन्।

अमेरिकाले जारी घटनाक्रममा शान्तिपूर्ण समाधानको पक्षमा दृढ समर्थन जनाउँदै आएको छ।–00–

Share:

सम्बन्धित समाचारहरु