काठमाडौं, १६ असार । मौसम पूर्वानुमान महाशाखाले आगामी चार दिन मनसुन थप सक्रिय हुने सम्भावना रहेको जनाएको छ । आइतबार साँझ एक विशेष बुलेटिनमार्फत महाशाखाले मनसुन थप सक्रिय हुने भएकाले आगामी बिहीबारसम्म सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाका अनुसार सोमबारदेखि बिहीबारसम्म देशभर साधारणदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । साथै कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ ।
साथै, कोसी, गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले कोसीका १३, वाग्मतीका चार, गण्डकीका आठ र लुम्बिनीका ९ गरी कुल ३४ जिल्लालाई वर्षाको उच्च जोखिमुमा राखेको छ ।–00–


