सुशीला कार्की नेतृत्वको सरकारमा नजाने सुमना श्रेष्ठ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी नहुने स्पष्ट गरेकी छन् ।
शुक्रबार साँझ शीतल निवासमा आयोजित प्रधानमन्त्री कार्कीको शपथ ग्रहण समारोहमा सहभागी भएपछि कतिपयले सुमना पनि मन्त्रिपरिषद्मा जान सक्ने अड्कलबाजी गरेका थिए । तर फेसबुक लाइभमार्फत उनले त्यसलाई अस्वीकार गर्दै आफू सरकारमा नजाने बताइन् ।
‘भ्रममा कोही पनि नपर्नुहोला, म क्याबिनेटमा जान लाछैन,’ उनले भनिन् ।
श्रेष्ठले हालैको आन्दोलनमा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरुको बलिदान सत्ता र पदका लागि नभई संस्कार परिवर्तनका लागि भएको उल्लेख गरिन् । ‘कलिला भाइबहिनीहरुको दाहसंस्कार सकिएको छैन । उहाँहरुको यो बलिदानबाट आएको परिवर्तनमा काम गर्ने मौका पाएका हामीले मन्त्री बन्ने सपना नराखौं भन्ने चाहन्छु,’ उनले भनिन् ।
उनका अनुसार अहिलेको प्राथमिकता संस्कार परिवर्तनमा केन्द्रित हुनुपर्ने हो । ‘हामीले सत्ता होइन सेवा, कुर्सी होइन कर्म र नाम होइन काम सोच्नुपर्छ,’ उनले भनिन् ।
श्रेष्ठले कार्की नेतृत्वको मन्त्रिपरिषद्लाई शुभकामना दिँदै आफू पछाडिबाट सहयोग गर्ने बताइन् । ‘हामीले हाम्रो यो परिवर्तन सफल बनाउनैपर्छ,’ उनले जोड दिइन् ।