कालिका, १३ असार । यो वर्षको एसइई परीक्षामा कालिका नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयहरुको नतिजा निकै कमजोर आयो । परीक्षाको नतिजा सार्वजनिक भएसँगै कालिका मौन देखिएको छ । कतैपनि चहलपहल छैन । सबै सुनसान छ मानौं कालिकामा एसइईको नतिजानै सार्वजनिक भएको छैन । यस्तो अवस्था किन आयो ?
प्रदेशकै नमुना विद्यालय भीमोदय नमुना माध्यमिक विद्यालयले पनि सन्तोषजनक नतिजा ल्याउन सकेन । नगर क्षेत्रमा रहेका ७ वटा माध्यमिक विद्यालयबाट ४ सय ३८ जना विद्यार्थीले एसइई परीक्षा दिए । परीक्षामा सहभागि भएका मध्ये १ सय १३ जना मात्रै उत्तिर्ण भए । बाँकी ३ सय २५ जना विद्यार्थी फेल भए । यति धेरै विद्यार्थी कसरी अनुतिर्ण भए त ? बहसको विषय बनेको छ ।
उसो त देशभरकै एसइई परीक्षाको नतिजा सन्तोषजनक आएन । जम्मा ४७ दशमवल ८६ प्रतिशत विद्यार्थी मात्रै उत्र्तीण भएका छन् । कालिकाको सामुदायिक विद्यालयहरु यति कमजोर कसरी बन्दै गयो ।
शक्तिखोर स्थित चर्तुमुखी माध्यमिक विद्यालयवाट ८८ जनाले परीक्षा दिए । तर पास २२ जना मात्रै भए । साविक सिद्धी गाविस हाल कालिका वडा नं. १० मा पर्ने मझ्वाङ माध्यमिक विद्यालयमा २२ जनाले परीक्षा दिए । तर २ जना मात्रै पास भए । यो चेपाङ विद्यार्थीहरुको बाहुल्यता हुने विद्यालय हो यो ।
यस्तै पृथ्वी माध्यमिक विद्यालयमा १०७ जना विद्यार्थीले एसइई परीक्षा दिए । तर २८ जना मात्रै पास भए । माध्यमिक विद्यालय रेडक्रसग्रामवाट २३ जनाले परीक्षा दिए २ जना मात्रै पास भए । यस्तै माध्यमिक विद्यालय जमुनापुरवाट १३ जनाले परीक्षा दिए । ४ जना विद्यार्थी मात्रै पास भए ।
भीमोदय नमुना माध्यमिक विद्यालयवाट १ सय ६४ जनाले परीक्षा दिए । तर ३९ जना मात्रै पास भए ।
माध्यमिक विद्यालय शमीपुरवाट २१ जनाले परीक्षा दिए । १६ जना विद्यार्थी पास भए । यो नतिजाहेर्दा अस्ति सम्म मात्रै कक्षा १० सम्म पढाउने अनुमति पाएको शमीपुरले अंकको हिसावले नगर क्षेत्रभित्रका माध्यमिक तहका सबै सामुदायिक विद्यालयलाई उछिन्न पुग्यो ।
पास भएका विद्यार्थीहरुको जीपीए पनि सन्तोषजनक छैन । जस्का कारण सामुदायिक तर्फका कुनैपनि विद्यालयले आफ्ना विद्यार्थीले ल्याएको जीपीए सार्वजनिक गरेका छैनन् । न त नगर शिक्षा शाखालेनै सार्वजनिक गर्यो ।
कालिका नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयहरुको नतिजाले अभिभावकहरु पनि निरास देखिएका छन् । टाँडी, भरतपुर, नारायणगढ बजार क्षेत्रमा अध्ययन गरिरहेका आफ्ना बाबुनानीहरुलाई स्थानीय सामुदायिक विद्यालयमै पढाउन रोके । नतिजा सन्तोषजनक आइदिएन । यो विषयमा गम्भीर समीक्षा गर्न आवश्यक छ एकजना अभिभावकले भने – नतिजा यस्तो आउनुमा शिक्षकहरु मात्रै जिम्मेवार छैनन हामी अभिभावकहरुले पनि जिम्मेवारी लिनुपर्छ ।
–00–