काठमाडौं, २ साउन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले न्यायालयको कार्यसम्पादनबारे गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।
विशेष अदालतले नेकपा एमालेका नेता विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएपछि सांसद न्यौपानेले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्। उनले फेसबुकमा लेखेका छन्, “न्यायालयको सन्दर्भमा निर्ममतापूर्वक समीक्षा गर्ने बेला भइसकेको छ। यस कर्मलाई जति ढिला गर्यो, त्यति नै अकल्पनीय ढिला भएको महसुस हुन सक्ने परिस्थिति बन्न सक्छ।”
सांसद न्यौपानेको उक्त अभिव्यक्ति विशेष अदालतको आदेशप्रति असन्तुष्टि जनाउँदै न्यायिक प्रणालीमाथि व्यापक समीक्षा आवश्यक रहेको संकेतका रूपमा हेरिएको छ।
विशेष अदालतको आदेशपछि राजनीतिक वृत्तमा विभिन्न प्रतिक्रिया आइरहेका बेला न्यौपानेले न्यायालयप्रति जनविश्वास कायम राख्न समयमै आवश्यक सुधार र समीक्षा हुनुपर्ने धारणा व्यक्त गरेका छन्। –00—

