भरतपुर, १३ जेठ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका ताल तलैयामा यतिबेला जलकुम्भी फुलेर ढकमक्क छ । यही फुलेका जलकुम्भीका कारण यतिबेला यहाँ फोटो खिच्न र टिकटक बनाउन आउने आन्तरिक पर्यटकको भिड देखिन्छ । पहिले फाट्टफुट्ट आउने आन्तरिक पर्यटक अहिले दिनमै सयौँको सङ्ख्यामा आउन थालेका छन् । जलकुम्भीले आन्तरिक पर्यटकको चहलपहल त बढाएको छ तर संरक्षणकर्मीलाई जलकुम्भीका कारण ताल सुक्दै जान थालेकोमा चिन्ता बढेको छ ।
भरतपुर महानगरपालिका–५ केशरबागको नवज्योती मध्यवर्ती सामुदायिक वनका अध्यक्ष भिमलाल चापागाईँले वनभित्र रहेको ‘किङ फिसर’ तालमा फोटो खिच्न र टिकटक बनाउन दैनिक सयौँको सङ्ख्यामा आन्तरिक पर्यटक आउने गरेको बताउनुभयो । “दैनिक करिब आठ सयसम्म पर्यटक यहाँ आउने गरेका छन् । यो भीड दुई सातादेखि बढेको हो”, उहाँले भन्नुभयो ।
पहिले फाट्टफुट्ट आउने भएपनि टिकटकमा भिडियो भाइरल भएपछि यहाँ घुम्न आउनेको सङ्ख्या दिनदिनै बढेको अध्यक्ष चापागाईँको भनाइ थियो । उहाँका अनुसार दैनिक विहान १० बजेदेखि पाँच बजेसम्म ताल क्षेत्रमा प्रवेश खुल्ला गरिएको छ । “यहाँ आउने पर्यटक जलकुम्भीको फुल टिप्छन् । फोटो भिडियो खिच्छन् र नाच्छन् रमाउँछन् । फर्कने बेलामा ‘गमलामा सार्छौँ’ भनेर केहीले फूलसहितका जलकुम्भी लैजान्छन् पनि”, उहाँले भन्नुभयो ।
अध्यक्ष चापागाईँका अनुसार वन प्रवेश गरेको एक जनासँग रू २५ लिने गरिएको छ । पर्यटक धेरै आउँदा आम्दानी भएको बताउँदै उहाँले तालमा जलकुम्भी फैलदा र फुल्दा ताल सुक्ने चिन्ता पनि बढेको बताउनुभयो । उहाँले पानी बग्ने क्षेत्रमा भन्दा जमेका पोखरीमा जलकुम्भी धेरै फैलिएको र ताल पूरै ढाकेको बताउनुभयो ।
दक्षिणकाली मध्यवर्ती वन उपभोक्ता समूहका अध्यक्ष बाबुराम न्यौपानेले यसवर्ष बर्सातको कमी भएका कारण जलकुम्भी झार बढेको बताउनुभयो । “पानीको सतह कम भएकाले मानिस तालमा जाने सक्ने अवस्था छ । जलकुम्भीका फुल पहिले पनि फुल्थ्यो । अहिले फुल टिप्ने र टिकटक बनाउने प्रचलन निकै बढेको छ”, उहाँले भन्नुभयो । जलकुम्भीले ताललाई विनास गरेको उहाँको भनाइ थियो । “अहिले जलकुम्भीका कारण ताल पुरिएकाले ताल गहिराउनुपर्ने अवस्था छ”, न्यौपानेले भन्नुभयो, “हाम्रो पनि दक्षिणकाली ताल र ओरालेघोल तालमा जलकुम्भी छ तर पर्यटकलाई टिकट काटेर प्रवेश गराएका छैनौँ ।”
बाटुलीपोखरी मध्यवर्ती सामुदायिक वनका अध्यक्ष ज्ञानु सुनारले जलकुम्भीलाई कमलको फुल भन्दै टाढाटाढाबाट आन्तरिक पर्यटक आउने गरेको बताउनुभयो । “प्रत्येक दिन यहाँ आएर सयौँले जलकुम्भीबारे सोध्नुहुन्छ । हामीले तालमा फुल्ने झार हो भनेर जानकारी दिने गरेका छौँ”, उहाँले भन्नुभयो । जलकुम्भी झारले तालमा समस्या आएको भन्दै यसको व्यवस्थापन गर्नुपर्ने चुनौती थपिएको उहाँले बताउनुभयो ।
चितवन राष्ट्रिय निकुञ्ज र संरक्षणको क्षेत्रमा काम गर्नेले जलकुम्भीको समस्या विकराल हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रामपृत यादवले जलकुम्भीको समस्या बेलैमा समाधान गर्न नसके यसले विकराल अवस्था सृजना गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यसले तालतलैया सुकाउँदै छ । जहाँत्यही यसको समस्या छ । यसलाई आउनै दिन हुन्न । यसलाई मान्छे लगाएर निकाल्नुपर्छ । नत्र भयावह हुन्छ ।”
बीसहजारी ताल जलकुम्भीका कारण सङ्कटमा पुगेको बताउँदै यादवले बीसहजारी तालको जलकुम्भी हटाउन ठूलो मिहिनेत र खर्च भएको जानकारी दिनुभयो । “मान्छे प्रकृतिमा रमाउन चाहान्छ । अहिले क्षणिक रमाइलो हेरेर हुँदैन । यहाँका तालमा पहिले जलकुम्भी थिएन । यो विदेशबाट आएको हो । यसले यहाँको रैथाने झारलाई समेत मार्ने गरेको छ”, उहाँले भन्नुभयो । जलकुम्भीको फुल फुल्ने, बाक्लो हुँदै जाने र ताल माथिमाथि आएर कुहिने हुनाले विस्तारै ताल सुक्दै जाने यादवको भनाइ थियो । उहाँका अनुसार यहाँ हुने रैथाने झार चराका लागि राम्रो मानिन्छ । ताल सुक्दै जाँदा चरा पनि आउन छाड्ने भन्दै यादवले यो प्रकृतिको महारोग भएकाले बेलैमा सोच्न जरुरी रहेको बताउनुभयो ।
निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत राजु घिमिरेले रैथाने बनस्पतीलाई संरक्षण गर्नुपर्ने बताउनुभयो । –00–


