कालिका, २९ चैत्र । समुदायका अगुवा, युवा स्वयमसेवकहरु र स्थानीय जनप्रतिनिधिहरुको लागि २ दिने संकटासन्न क्षमता विश्लेषण तालिम सम्पन्न भएको छ । समुदायहरुमा घरधुरी सर्वेक्षणको काम सम्पन्न भएसंगै समुदायहरुको अवस्था अध्ययन गर्ने र समुदायको सामुदायिक योजना तयारीका लागि स्वयमसेवकहरुलाई परिचालन गर्न सक्ने गरि सो तालिम आयोजना गरिएको हो । कार्यक्रममा विभिन्न समुदाय र स्थानीय वडा कार्यालयका जनप्रतिनिधिहरु समेत २२ जनाको सहभागिता रहेको थियो । कार्यक्रम लुमन्तीका कार्यक्षेत्र संयोजक शिंह बहादुर वाईवा तामाङ्गले सहजिकरण गर्नुभएको थियो ।
तालिममा समुदायको अवस्थाहरुको विश्लेषण कसरी गर्ने भन्ने विषयमा सहभागितामुलक ग्रामिण लेखाजोखाका विभिन्न विधिहरु प्रयोगगरि समुदायको योजना निर्माणको काम कसरी सम्पन्न गर्ने भन्ने विषयमा जानकारी प्रदान गरिएको थियो । सहभागितामुलक ग्रामिण लेखाजोखा अनुसार धरातलिय हिंडाई विधि, सामाजिक तथा श्रोत नक्शांकन विधि, संकटासन्न तथा क्षमता नक्शांकन विधि, प्रकोप स्तरिकरण विधि, प्रकोप पात्रो, मौसमी पात्रो, रोजगार पात्रो, ऐतिहासिक समयरेखा विश्लेषण विधिहरुको प्रयोग कसरी गर्ने भन्ने विषयमा सहभागिहरुलाई जानकारी गराईएको थियो ।
दुई दिने कार्यक्रमबाट सिकेका कुराहरुलाई समुदायका स्वयमसेवक युवाहरुले कालिका नगरपालिकाभित्रका १० वटा समुदायहरुमा प्रयोग गर्दै समुदायको कार्ययोजना तयार गर्ने गरि योजना तयार गरिएको छ । उक्त कार्य समुदायहरुमा संचालन गर्नको लागि ४÷४ जनाको ३ वटा समुह तयार गरि जिम्मेवारी प्रदान गरिएको थियो । सुमन लामा, अम्बर वि.क. र कविता महतोले ती ३ वटा समुहको नेतृत्व गर्ने र लुमन्तिका समुदाय परिचालकहरु पनि प्रत्यक समुदायमा सहजिकरणको लागि सहभागि हुने गरि तयारी गरिएको थियो ।





—-000—

