काठमाडौं । जेनजी आन्दोलनको क्रममा प्रहरीमाथि आक्रमण र आगजनीमा संलग्न दुई जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ।
पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका–३ घर भई हाल काठमाडौंको शंखरापुर नगरपालिका–७ बस्ने ४३ वर्षीय प्रल्हाद दाहाल र शंखरापुर नगरपालिका–३ का ४७ वर्षीय सानुकान्छा वाइबा रहेका छन्। उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त बौद्धमा पठाइएको प्रहरीले जनाएको छ।
यस्तै, प्रहरी वृत्त बौद्धले जेनजी आन्दोलनकै क्रममा हतकडी र त्यसको चाबी लुटपाट गरेको आरोपमा झापाको दमक नगरपालिका–२ घर भई हाल काठमाडौंको बालाजु बस्ने २९ वर्षीय साजन श्रेष्ठलाई पनि नियन्त्रणमा लिएको छ।
श्रेष्ठलाई यही कात्तिक ८ गते साँझ ७ बजे गोकर्णेश्वर नगरपालिका–७, दक्षिण ढोकाबाट पक्राउ गरिएको हो। हाल उनीमाथि थप अनुसन्धानका लागि प्रहरी वृत्त बौद्धमा राखिएको प्रहरीले जनाएको छ।—00—


