कालिका, १६ चैत । कालिका नगरपालिकाको वडा नं. ६ मा आजदेखि पाँचदिने अचार बनाउने तालिम सुरु भएको छ ।
स्थानीयलाई उद्यमशील बनाउने नगरपालिकाको योजना अनुसार कालिका नगरपालिकाले आयोजना गरेको तालिमको नगर उपप्रमुख विमला तामाङले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै नगर उपप्रमुख तामाङले स्थानीय स्तरमै रोजगारी सृजनागर्न पालिकाले उद्यमशीलतालाई प्राथमिकतामा राखेको बताउनुभयो । स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउन नगरपालिकाले विभिन्न खालका सीप मूलक कार्यक्रमगर्दै आएको उहाँले जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएको उपप्रमुख तामाङले सीप सिकेर आत्मनिर्भर बन्न सहभागिहरुलाई आग्रहगर्नभयो । व्यवसायिक रुपमै कामगर्ने योजना लिएर तालिममा सहभागि हुन हुनुस उहाँले भन्नुभयो –‘त्यसका लागि थप सहयोग गर्न पालिका तयार छ ।’
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडामणी शर्मा गौतमले सीप विकासले मात्रै सम्बृद्ध कालिका र सुखी कालिका हुने बताउनुभयो । नगरपालिकाले लिएको सम्बृद्ध कालिका बनाउने योजनालाई यस्तै खालका सीप मूलक कार्यक्रमले मात्रै सम्भवहुने भएकाले तालिमवाट प्रशस्त फाईदा लिन सहभागिहरुलाई आग्रहगर्नुभयो । उहाँले सहभागिहरुलाई उद्यमी बन्ने उद्देश्य लिएर सीप सिक्न आग्रहगर्नुभयो । गुणस्तरिय सामग्री उत्पादनगर्ने लक्ष्य लिएर सीप सिकेमा त्यसलाई व्यवसायिक रुपमै अगाडी बढाउन सकिने उहाँको भनाई छ । सीप सिकेर उद्यमी बन्न खोज्नेहरुलाई पालिकाले बिउ पुँजीको रुपमा केही आर्थिक सहयोग समेतगर्न सकिने उहाँले बताउनुभयो ।
उत्पादन भएको सामग्रीमा गुणस्तरिय भएमा त्यसको बजारिकरणमा समेत पालिकाले सहयोग गर्ने स्पष्टपार्नुभयो । नगरपालिकाले पाककला तालिम, व्यूटिपार्लर तालिम, चुरा बनाउने तालिम, कपाल काट्ने तालिम लगायतका सीपमूलक कार्यक्रमहरु गर्दै आएको उहाँले जानकारी दिनुभयो ।
वडा नं. ६ का वडा अध्यक्ष टिकाराम रेग्मीको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा कालिका वडा नं. २ का वडा अध्यक्ष लक्ष्मण पौडेल, वडा नं. ७ का वडा अध्यक्ष कमलराज मोक्तान, कार्यपालिका सदस्य शान्ति महतो लगायतका अतिथिहरु उद्घाटनमा सहभागि थिए । वडा नं. १ देखि ८ नम्बर वडा सम्मका स्थानीय महिलाहरु अचार बनाउने तालिममा सहभागि छन् । पाँचदिन सम्म चल्ने तालिममा सरस्वती लामा र संगीता खनालले सहजिकरण गरिरहेका छन् ।



—00—


