गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्छु भन्ने बाचा पुरा भयो – प्रमुख रेनु दाहाल

चितवन, १९ फागुन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण गर्छु भन्ने बाचा पुरा भएको बताउनुभएको छ । विद्यालयस्तरीय मेयर्स कप क्रिकेट लिग प्रतियोगिताको समापन गर्दै उहाँले रंगशाला परिसरमा आउदा दिने गरेको बाचा पुरा भएको प्रष्ट पार्नुभयो।

प्रमुख दाहालले २ दिन अगाडि टेण्डरको आह्वान भएकाले केही महिनाभित्र निर्माण कार्य सुरु हुने र साढे २ वर्षभित्र निर्माणको कार्य पुरा हुने उल्लेख गर्नुभयो । ‘सम्पूर्ण नेपालीका लागि खुसीको विषय हो, आज फरक अनुभूति भएको छ,उहाँ भन्नुभयो,‘सधै यहाँ आएर रंगशाला बन्छ, बनाउने छौ मात्र भन्ने गर्दथ्यौ । अब बन्ने पक्का भएको छ ।’ उहाँले महानगरपालिकाले विद्यालयस्तरीय लिग प्रतियोगिता पहिलो पटक गरेको भए पनि पूर्ण रुपमा सफल भएको बताउनुभयो ।
महानगरपालिकाले क्रिकेट मात्र होइन छिट्टै फुटबल, भलिबल र अन्य खेल पनि आयोजना गर्ने उहाँको भनाई थियो ।

प्रमुख दाहालले अब पुरुषको मात्र नभइ महिलाको पनि यस्ता प्रतियोगिता हुने प्रष्ट पार्नुभयो । सन् २०२७ को यू–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता भरतपुरको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेलाउने इच्छा रहेको बताउनुभयो । नेपाल क्रिकेट संघ क्यानलाई यसका लागि आवश्यक वातावरण मिलाउन अनुरोध गर्नुभयो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले सन् २०२७ मा हुने यू–१९ महिला विश्वकपमा नेपाललाई सहआयोजक बनाएको छ । जसअनुसार सन् २०२७ को यू–१९ महिला विश्वकप नेपाल र बंगलादेशमा हुने छ । त्यसअघि सन् २०२५ को प्रतियोगिता भने मलेसिया र थाइल्याण्डले आयोजना गर्ने छन् । यसैबीच, प्रतियोगिताको उपाधि अर्किड स्कुलले उचालेको छ । शनिबार सम्पन्न फाइनल खेलमा वाल्मीकि शिक्षा सदनलाई २० रनले पराजित गर्दै अर्किड रनिङ ट्रफी हात पार्ने पहिलो टिमका रुपमा नाम लेखाउन सफल भएको हो ।

भरतपुर महानगरपालिकाले आयोजनामा माघ २६ गतेबाट सुरु भएको प्रतियोगितामा महानगरभित्रका १० सामुदायिक र १० संस्थागत विद्यालयका २० क्रिकेट टिम सामेल थिए ।–00–

Share:

सम्बन्धित समाचारहरु