सरसफाइ र संस्कार जोड्दै नारी शक्ति अभियान सक्रिय

रेशम सापकोटा
चितवन । चितवनको माडी नगरपालिका–५ नयाँपिपरिया मा “नारी शक्ति अभियान समूह”ले सरसफाइ र संस्कारलाई एकसाथ जोड्दै उदाहरणीय सामाजिक अभ्यास प्रस्तुत गरिरहेको छ। महिला दिदीबहिनीहरू तथा केही सचेत पुरुषहरू मिलेर गाउँका बाटो–घाटो सरसफाइ अभियानमा सक्रिय रूपमा जुटेका छन्। यस अभियानले वातावरण संरक्षण सङै, जिम्मेवार नागरिकताको स्पष्ट सन्देश पनि प्रवाह गरिरहेको छ।

समूहले फोहोर व्यवस्थापनलाई व्यवस्थित र दीर्घकालीन बनाउने उद्देश्यले कुहिने र नकुहिने फोहोर छुट्याएर संकलन गर्ने अभ्यास सुरु गरेको छ। कुहिने फोहोरबाट जैविक मल तयार गरिन्छ, जसलाई तरकारी तथा बगैंचामा प्रयोग गरिन्छ। यसले एकातर्फ फोहोर घटाउने काम गरेको छ भने अर्कोतर्फ स्थानीय उत्पादनलाई प्रोत्साहन पनि दिएको छ। त्यस्तै, प्लास्टिकजन्य वस्तुहरू छुट्टै संकलन गरी नगरपालिकाको गाडीमार्फत पठाइन्छ। यसरी गाउँलाई सफा राख्नुका साथै दीर्घकालीन वातावरणीय सन्तुलन कायम गर्ने प्रयास भइरहेको छ।

अध्यक्ष सावित्री देवी पोखरेलका अनुसार, एकादशीका दिन पालैपालो गाउँघरमा भजन–कीर्तन गर्ने परम्पराबाट नै सामाजिक कामको सोच विकसित भएको हो। “हामी पहिलेदेखि नै एकादशीमा भजन–कीर्तन गर्दै आएका थियौं। त्यसपछि समाजका लागि केही सकारात्मक काम गरौं भन्ने भावना आयो र सरसफाइ अभियान सुरु गर्‍यौं,” उहाँले बताउनुभयो। उहाँका अनुसार धार्मिक आस्थासँगै सामाजिक उत्तरदायित्व जोडिँदा समुदाय अझ सशक्त बन्ने विश्वास गरिएको छ।
सचिव नरेश भुजेलले महिला दिदीबहिनीसँग सहकार्य गरेर समूहमा काम गर्दा छरछिमेकबीचको सम्बन्ध थप सुदृढ हुने उल्लेख गर्नुभयो। “सामूहिक रूपमा काम गर्दा आपसी समझदारी, विश्वास र एकता बढ्छ, जसले सामाजिक काममा थप ऊर्जा प्रदान गर्छ,” उहाँले भन्नुभयो।

कोषाध्यक्ष लक्ष्मी चापागाईंका अनुसार साँझको भजन–कीर्तन आयोजना गर्ने घरबाट प्राप्त सहयोग रकम समूहका आवश्यक सामग्री खरिदमा प्रयोग गर्ने गरिएको छ। “हामीले संकलन भएको सहयोग रकमलाई पारदर्शी रूपमा समूहका काममा खर्च गर्छौं। यसले अभियानलाई आत्मनिर्भर र दिगो बनाउन सहयोग पुर्‍याएको छ,” उहाँले बताउनुभयो।

कार्यक्रम संयोजक तुलसा पोखरेलले महिला दिदीबहिनीहरू पनि समाज परिवर्तनका सक्रिय संवाहक हुन् भन्ने सन्देश दिन यस्तो अभियान निरन्तर सञ्चालन गरिने जानकारी दिनुभयो। “महिलाहरू घरभित्र मात्र सीमित छैनन्, उनीहरू समाज रूपान्तरणका आधार स्तम्भ हुन् भन्ने देखाउन पनि हामी सक्रिय छौं,” उहाँले बताउनुभयो।

समूहकी उपाध्यक्ष मधु अधिकारी, सह–सचिव सरिता केसी तथा सदस्यहरू—सरिता तिमिल्सिना, कलावती राय, होममाया भुजेल, चन्द्र न्यौपाने र शान्ति आचार्य—आ–आफ्नो जिम्मेवारीमा सक्रिय सहभागिता जनाउँदै आएका छन्। सरसफाइ कार्यक्रम सम्पन्न भएपछि सामूहिक भजन–कीर्तनले वातावरणलाई भक्तिमय बनाउने गरेको छ। धार्मिक आस्था र सामाजिक अभियानको संगमले गाउँमा आपसी एकता, सद्भाव र सहकार्यको भावना अझ मजबुत बनाएको सहभागीहरूले बताएका छन्।

Share:

सम्बन्धित समाचारहरु