चितवन, २ फागुन ।
चितवनको खैरहनी नगरपालिकाको केन्द्रमा रहेको विद्यालय खैरहनी माध्यमिक विद्यालयको हाताभित्र मद्यपान, धुम्रपान तथा सुर्तीजन्य वस्तुको प्रयोग गर्न तथा विद्यालयको १०० मिटर वरपर त्यसखालका वस्तु बिक्री वितरण गर्न बालक्लबले निषेधक्षेत्र घोषणा गरेका छन् ।
यसअघि प्रधानाध्यापक गोपाल प्रसाद शर्माको संरक्षकत्वमा तथा निशा गिरीको अध्यक्षतामा २५ सदस्यीय बाल क्लबको पुनर्गठन गरिएको फोकल टिचर माला राय चौधरीले जानकारी दिनुभयो । बालक्लबको उपाध्यक्षमा सोएल खान, कोषाध्यक्ष आयुशा कुशवाहा, सचिव दिव्या राई, सहसचिव विमल चौधरी रहेका छन् ।
आज एक कार्यक्रम बीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल परियार एवम् समाजसेवी मुरली प्रसाद गजुरेलको उपस्थितिमा विद्यालयको १०० मिटर वरपर मद्यपान, धुम्रपान तथा सुर्तीजन्य वस्तुको बिक्री वितरण निषेध गरिएको ब्यानर उदघाटन गरिएको छ ।
विद्यालय हाताभित्र मद्यपान, धुम्रपान तथा सुर्तीजन्य वस्तुको प्रयोग एवम् १०० मिटर वरपर त्यसखालका वस्तु बिक्री वितरण नगरिदिन बाल क्लबले अनुरोध गरेको छ । त्यस्ता वस्तुहरूको बिक्री वितरण गरेको थाहा पाइएमा पहिलो पटक बिक्रेतालाई चेतावनी दिने र त्यसपछि पनि अटेर गरी बिक्री वितरण गरेको पाइएमा कडा कारबाहीको लागि सम्बन्धित निकायलाई जानकारी गराइने बालक्लबका संरक्षक एवम् विद्यालयका प्रधानाध्यापक गोपाल प्रसाद शर्माले बताउनु भयो ।


