BREKING NEWS – कान्तिपुर कार्यालयबाट कैलाश सिरोहिया पक्राउ

काठमाडौं, ८ जेठ । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरी परिसरको संयुक्त टोलीले सिरोहियालाई पक्राउ गरेको हो ।

दोहोरो नागरिकतासम्बन्धी कसुरमा धनुषा जिल्ला अदालतले सिरोहियालाई पक्राउ गर्न आज बिहान प्रहरीलाई अनुमति दिएको थियो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीसहितको टोली सादा पोशाकमा थापाथलीस्थित कान्तिपुर पब्लिकेसन्सको कार्यालय पुगेका थिए । त्यसपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई आफैं पुगेका थिए ।

नागरिकतासम्बन्धी कसुरमा अनुसन्धानका लागि सिरोहियालाई पक्राउ गर्न जिल्ला अदालत, धनुषाले मंगलबार अनुमति दिएको थियो ।

सिरोहियाविरुद्ध सर्लाहीका इन्द्रजित महतोले जिल्ला प्रहरी कार्यालय, धनुषामा १६ वैशाख २०८१ मा किटानी जाहेरी दिएका थिए । जाहेरीमा सिरोहियाले फरक–फरक नम्बरका नागरिकताहरु प्रयोग गरिरहेको भन्दै नागरिकता ऐन, २०६३ अनुसारको कसूरमा छानबिन गर्न माग गरिएको थियो ।

 

उनलाई मंगलबार नै धनुषाको जनकपुर लैजाने तयारी प्रहरीको छ ।

सिरोहियाले भने सहकारीको वचत रकम हिनामिनाका विषयमा निरन्तर रिपोर्टिङ गरेकाले गृहमन्त्री रवि लामिछानेले प्रतिशोधपूर्ण व्यवहार गरेको प्रतिक्रिया दिएका छन् ।

–00–

Share:

सम्बन्धित समाचारहरु