चितवन, २५ माघ ।
नेपाली चियाको आन्तरिक बजार प्रवद्धनका लागि चितवनको नारायणी नदी किनारमा भोलिबाट राष्ट्रिय चिया प्रदर्शनी तथा चिया टेस्टीङ्ग कार्यक्रम हुने भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना तथा उद्योग वाणिज्य संघ चितवनको सहआयोजनामा दुईदिनसम्म चल्ने प्रर्दशनीको तयारी पुरा भएको छ ।
प्रदर्शनीमा नेपालमा उत्पादित विभिन्न ब्राण्डको चियाको निःशुल्क स्वाद लिन पाइने राष्ट्रिय चिया तथा कफी बोर्डले आज नारायणगढमा गरेको पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको छ । देशभित्रै चियाको खपत बढाउने र यसका फाइदाका बिषयमा जानकारी दिने उदेश्यले कार्यक्रम आयोजना गरिएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डको कार्यकारी निर्देशक डा विष्णुप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँले प्रदर्शनी मार्फत चियाको सहि रुपमा सेवन गर्ने संस्कृतिको विकास गर्ने उदेश्य राखिएको उहाँले बताउनुभयो ।
‘स्वेदेशमा उत्पादित चियाको सेवन गरौं, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौं’ मूल नाराका साथ आयोजना गरिएको प्रदर्शनीलाई कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसालले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । नेपालमा दोस्रो पटक र चितवनमा पहिलो पटक आयोजना गर्न लागिएको प्रदर्शनीमा देशभरका विभिन्न जिल्लामा उत्पादित चियाका ३२ वटा स्टलहरु रहनेछन् भने १०० बढी चिया व्यवसायीहरुको सहभागिता रहने भट्टराईले बताउनुभयो ।
प्रदर्शनीमा नेपालका विभिन्न फर्म, व्यवसायी, समूह र सहकारीबाट उत्पादित चियाको टेस्टिङ गर्नुको साथै स्वाद र गुणस्तरका हिसाबले उत्कृष्ट चिया व्यवसायीहरुलाई सम्मान गर्ने जनाइएको छ । देशको बढ्दो व्यापार घाटा कम गर्न चियाको गुणस्तरीय उत्पादनमा वृद्धि गरी निर्यात गर्दै आन्तरिक बजारमा पनि स्वदेशी चियाको उपभोग वृद्धि गर्नुको विकल्प नभएको निर्देशक भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आम उपभोक्ताहरुको माग अनुसार संख्यात्मक उत्पादनमा मात्रै नभएर तयारी चियाको विशिष्टकृत गुणस्तरमा ध्यान दिन अति जरुरी देखिन्छ । नेपालमा चियाको आन्तरिक खपत अन्य छिमेकी मुलुकहरुको तुलनामा अति नै न्यून रहेकाले आन्तरिक बजारको प्रवद्र्धन गर्दै स्वदेशी चियाको उपभोग वृद्धि गर्नु आजको टड्कारो आवश्यकता हो ।’ उहाँले प्रदर्शनीले आगामी दिनमा नेपाली चियाको आन्तरिक बजार बिस्तार गर्दै स्वदेशी चियामा उपभोक्ता अझ बढी आकर्षित हुने विश्वास व्यक्त गर्नुभयो ।
इलामका तत्कालिन बडाहाकिम गजराज सिंह थापाले विसं १९२० मा इलाममा चिया रोपेपछि नेपालमा चिया खेतीको सुरुवात भएको मानिन्छ । विसं २०३९ सालमा राजा विरेन्द्रले विसं २०३९ मा झापा, इलाम, पाँचथर, धनकुटा र तेह्थुमलगायतका जिल्लाहरुलाई चिया क्षेत्रको रुपमा घोषणा गरेपछि सरकारी स्तरबाट व्यवसायिक चिया खेतीको प्रवद्र्धन भएको पाइन्छ । गत आर्थिक वर्षमा नेपालबाट तीन अर्ब ९३ करोड ७२ लाख रुपैयाँको १६ हजार ५९४ मेट्रिक टन चिया निर्यात भएको थियो ।


