चितवन । साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञको तयारीसँगै चरु संकलनलाई पनि तीव्रता दिइएको छ । एक महिने ज्ञानमहायज्ञमा २० हजार किलो भन्दा धेरै चरु आवश्यक पर्ने अनुमान गरिएको छ । महायज्ञभर हवन गर्दा चरु चढाउनुपर्ने हुन्छ ।
चितवन र छिमेकी जिल्लामा पनि चरु संकलन गर्न थालिएको महायज्ञ संयोजक एवम् श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्का अध्यक्ष प्रेमनिधि भारद्धाज कँडेलले जानकारी दिए । उनका अनुसार भरतपुर महानगरपालिकामा विभिन्न मन्दिर, सत्संग समिति र आमा समूहले चरु संकलन गर्दै छन् ।
महायज्ञमा चरु धेरै खर्चिनुपर्ने भएकाले चरु संकलनलाई तीव्रता दिइएको हो । राप्ती नगरपालिकामा मात्रै २१ स्थानबाट चरु संकलन गरिँदै छ । ‘गैंडाकोटमा पनि महायज्ञको प्रचारप्रसारसँगै चरु संकलन थालिएको छ । चरु संकलनका लागि आमा समूहलाई परिचालन गरिएको छ’, उनले भने । एक जनाले एक माना तिल, आधा माना जौ, आधा माना चामल, घ्यु, सखर वा चिनी दिन सक्नेछन् । साथै वर, पिपल, स्वामी, आँप, डुम्रीका पातलगायत हवन सामग्रीमा पनि संकलन गरिँदै छ ।
हवन मण्डप निर्माण लगायत महायज्ञको तयारीलाई तिव्रता दिन आज दिउँसो साढे ११ बजे नारायणी नदी किनारमा छलफल हुँदै छ । महायज्ञमा एक करोड ४९ लाख ८५ हजार बत्ति जलाइने उनले बताए । यो महायज्ञमा पित्रृहरुको उद्धारका लागि ससंकल्प पुजा, ग्रहदशा सुधार्न, विवाह तथा व्रतबन्धजस्ता धार्मिक कार्यहरु पनि गर्न सकिने उनले जानकारी दिए । महायज्ञको प्रचारप्रसार गर्न माघ १० गते नारायणगढ र भरतपुरका बजार क्षेत्रमा मोटरसाइकल ¥यालीको आयोजना गरिएको छ । बजार क्षेत्र परिक्रमा गर्ने मोटरसाइकल ¥यालीमा सहभागी हुन आयोजकले आह्वान पनि गरेको छ ।
माघ १२ गते वसन्त पन्चमीदेखि फागुन १२ गतेसम्म नदी किनारमा हुन लागेको महायज्ञको लागि नारायणगढस्थित नारायणी नदी किनारमा हवन मण्डप र कुण्ड बनाउने काम जारी छ । योगी नरहरीनाथले शरिर छाडेपछि पहिलो पटक ब्रह्मगायत्री मन्त्रद्धारा हवन हुन लागेको हो । ‘यो एक युगमा हुने हवन हो । यसै क्षेत्रमा आरती गर्दै आएको संस्थाले महायज्ञ गर्न लागेको हो । प्रचारप्रसारलाई पनि हामीले तीव्र बनाएका छौँ’, उनले भने । श्रीसनातन संस्कृति संरक्षण अभियान र श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्को संयुक्त आयोजनामा ज्ञानमहायज्ञ हुन लागेको हो ।
सनातनदेखि चलिआएको संस्कृति, परम्परा, नदी संरक्षण, पयार्वरणीय सन्तुलन जोगाउने उद्धेश्यले कोटिहोम ज्ञानमहायज्ञ गर्न लागिएको कँडेलले जानकारी दिए । नेपालमा कोटिहोम महायज्ञका अध्येता, संकल्पकर्ता, राष्ट्र गुरु योगी नरहरिनाथलाई सम्झदै कोटिहोम ज्ञानमहायज्ञ गर्न लागिएको उनले बताए । नेपाल सन्त समाजका अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वती महाराजको प्रमुख संरक्षकत्व तथा महामण्डलेश्वर आत्मानन्द गिरी, रमणानन्द गिरी, स्वामी जगन्नाथाचार्य, हरिशरण उपाध्याय, किशोरकुमार गौतम आदि नेपालका प्रमुख सन्तमहात्माहरूको संरक्षकत्वमा महायज्ञ हुने आयोजकले जनाएको छ ।