कृषि उत्पादनको बजारिकरणमा ठूलो सफलता

सकियो रत्ननगर महोत्सव, महोत्सव पूर्ण सफल भएको आयोजकको दावी

रत्ननगर, ८ माघ । पूर्वी चितवनको टिकौलीचौरमा आयोजना गरिएको रत्ननगर महोत्सवको १२औं संस्करण सोमबार सकिएको छ । रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा पुस २६ गतेबाट सुरु भएको महोत्सव उद्देश्य प्राप्त गरि सम्पन्न भएको हो । कृषि र पर्यटनलाई प्राथमिकता दिइएको उक्त महोत्सव कृषि उत्पादनको बजारीकरणमा सफल भएको आयोजकले जनाएको छ ।

 

जिल्ला समन्वय समितिका अध्यक्ष नारायण प्रसाद अधिकारी प्रमुख अतिथि रहेको समापन कार्यक्रममा व्यवसायीहरुले महोत्सवले अपेक्षाकृत उपलब्धी हासिल गर्न सफल भएको बताएका छन् । महोत्सवले जिल्लाको आर्थिक विकास, उद्यमशिलता विकास र स्थानीय स्तरमा उत्पादित बस्तुको बजारिकरणको लागि महत्वपूर्ण भूमिका खेलेको संघका अध्यक्ष शंकर गिरीले बताए । महोत्सवको तीन लाखले अबलोकन गर्ने र २५ करोडको कारोबार हुने अपेक्षा र अनुमान गरिएको थियो । महोत्सवमा आयोजकको अपेक्षा भन्दा बढी आर्थिक कारोबार भएको बुझिएको छ ।

 

समापन नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष सुर कृष्ण बैध्यले महोत्सवले कृषि उत्पादन र बजारीकरणमा दीर्घकालिन प्रभाव पार्ने बताए । महोत्सव रमाईलोको लागि मात्र नभएर स्थानीय उत्पादनको बजारीकरण गर्ने उपयुक्त माध्यम पनि हो । जिल्ला समन्वय समितिका अध्यक्ष अधिकारीले जिल्लाको आर्थिक विकासको लागि महोत्सवले अर्थपूर्ण भूमिका खेलेको बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जिल्लाको अर्थतन्त्रलाई चलायमान गराउन महोत्सव सफल भएको बताए ।

 

उनले १५ दिन भित्र महोत्सवको आम्दानी खर्च सार्वजनिक गर्न आयोजकलाई आग्रह गरेका छन् । कार्यक्रममा संघका बरिष्ट उपाध्यक्ष निराजन खनालले महोत्सवको उद्देश्यका बारेमा प्रकाश पारेका थिए । संघका अध्यक्ष शंकर गिरीको अध्यक्षतामा भएको समापन कार्यक्रममा रत्ननगर नगरपालिकाका संस्थापक मेयर नारायण वन, नेकपा एमालेका नगर अध्यक्ष ईश्वरीप्रसाद अर्याल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम संघका महासचिव उपेन्द्र शर्मा आचार्यले सञ्चालन गरेका थिए ।–00–

Share:

सम्बन्धित समाचारहरु